इटहरीः मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशी कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण  लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको घटना सार्वजनिक भएको छ । राजवंशीले  आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि सो घटना   बाहिरिएको हो ।

उनले तीन महिनादेखि आफूलाई कुवेतको सोइरब भन्ने ठाउँको दुवाराजम सीआईडी पुलिस जेलमा राखिएको पत्रमा उल्लेख गरेका छन् । ट्राभल डकुमेन्ट्स बनाउने क्रममा नेपाली दूतावासले भारतीय नागरिक भनी उल्लेख गरिदिएकाले आफूले समस्या भोग्नुपरिरहेको उनले पत्रमा लेखेका छन् । राजवंशीले आफ्नो समस्यालाई लिएर पटकपटक दूतावाससमक्ष अनुरोध गरेपनि बेवास्ता गर्ने गरेको पनि पत्रमा उल्लेख गरेका छन् ।

उनले ‘आफ्नो सिभिल आईडीको फोटो खिची अन्य कागजात मिलाई कुवेत पुलिसले नेपाल पठाउँछु, सफर जेलमा लग्दा राष्ट्रियता फरक पर्न गई म नेपालीलाई भारतीय नागरिक बनाई दिएकाले नेपाल फर्कन समस्या भएको’ पत्रमा उल्लेख गरेका छन् ।

कुवेत पुलिसले आफूलाई भारतीय नागरिक भन्दै नेपाल फर्कन रोक लगाएपछि कुवेतमा रहेको नेपाली दूतावासमा राष्ट्रियता सच्याई दिन पटकपटक अनुरोध गर्दा पनि नसुनेको र दूतावासका कर्मचारी जेलमै आएको बेलामा भेटेर समस्या सुनाउँदा पनि कुनै सुनवाइ नगरेपछि पत्र लेखेको उनले बताए ।

दूतावासले बेवास्ता गरेपछि पत्रमार्फत घरपरिवारलाई जानकारी गराएपछि उनको परिवारले सो पत्र कुवेतमा रहेका विभिन्न संघसंस्थालाई पठाएपछि दूतावासको गल्ती बाहिरिएको हो । सो पत्र विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतका अध्यक्ष धिरेन सुवेदीकहाँ पनि पुगेको थियो ।

अध्यक्ष सुवेदी भन्छन्, ‘मंगलबार बिहान उठ्नासाथ मेसेन्जरमा हातले कोरिएको एउटा पत्र प्राप्त भयो, सुरुमा त खासै चासो दिइनँ, पछि उसले लेखेको मेसेजमा आँखा गयो, पीडितको आफन्त हो या उसको साथी, जसले मबाट हुन सक्ने सहयोगको अपेक्षा माग्नुभएको रहेछ ।’

उनले भने, ‘त्यसपछि चिठीतिर आँखा दौडाउन थालें, अरुणकुमार राजवंशी भन्ने भाइले कुवेतको जेलबाट आफ्ना बुबाआमासँग गुहारका लागि कोरेको पत्र रहेछ । पूरै पढें, त्रुटि हाम्रै नेपाली दूतावासलाई देखाइएको रहेछ । भाइको ट्राभल डकुमेन्ट्स बनाउने क्रममा भारतीय नागरिक भनी उल्लेख गरिएको कारण उसलाई डिपोर्ट जेल पु¥याएपछि कागजातमा त्रुटि भेटिएको भनेर पुनः जेलमै फिर्ता गरिएको रहेछ ।’

उनले दूतावासलाई पटकपटक त्यस’बिषयमा जानकारी दिँदा पनि दूतावासबाट कुनै रेस्पोन्स नपाएपछि अन्तिम विकल्पका रूपमा नेपालमा रहेका आफ्नो बुबाआमालाई र नेपालमा रहेका विभिन्न संघसंस्था, जनप्रतिनिधि, सञ्चारमाध्यमलगायतलाई उद्धारका लागि पत्र लेखेको आफूले पाएको बताए ।

उनले पीडिको पत्र पाएपछि आफूले लगत्तै दूतावाससँग कुराकानी गरेको र चाँडै ट्राभल डकुमेन्ट्स सच्चाएर पठाउने तयारी भइरहेको जवाफ पाएको बताए ।

उनले केही दिनअघि पनि दूतावासबाट जारी भएको डकुमेन्टमा त्रुटि भई घर फिर्ती हुन ढिलाइ भएकोमा आक्रोश पोख्दै एक जना नेपाली एनआरएनए आफूकहाँ आएको पनि बताए ।

उनलाई निरन्तर फलोअप गरेर समस्या समाधान गरी नेपाल पठाउन सफल भएको उनले बताए ।

दूतावासले गर्नुपर्ने कागजी प्रक्रियामा यस्ता त्रुटि भेटिँदा धेरै दाजुभाइ दिदीबहिनीको जेल बसाई लम्बिएको भन्दै दूतावासका कर्मचारीलाई आगामी दिनमा यस्ता विषयमा विशेष ध्यान दिन पनि उनले अनुरोध गरेका छन् । यता दूतावासले पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएको दोहामा रहेका पत्रकार योगेन्द्र योगीले जनाएका छन ।