सिक्किममा ताल फुट्यो ,मोरङका १ जना नेपाली सहित १० जनाको मृत्यु, ८८ जना बेपत्ता

  • आश्विन १८, २०८०
  • प्रदेश पोर्टल
alt

    काँकडभिट्टाः उत्तर सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा एक नेपालीसहित १० जनाको को मृत्यु भएको छ भने  २३ सैनिकसहित ८८ जना बेपत्ता छन्।

    बुधबार बिहानको राति १ बजे नदीमा ताल फुटेर बाढी आएको थियो। बाढीले अर्बौंको भौतिक क्षति गर्नुको साथै सयौंको ज्यान लिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसमा नेपाली पनि परेका छन्।

    सिक्किम सरकारले बुधबार साँझ प्रेस विज्ञप्तिमार्फत बाढीमा परी मृत्यु हुनेमा नेपाली नागरिक मोरङका ४५ वर्षीय भरत घतानी रहेको जनाएको छ। घतानीको शव रुद्र शंकरको घरमा फेला परेको थियो। उनको शवलाई सिङ्ताम जिल्ला अस्पतालमा राखिएको छ। उनी त्यहाँ घुम्नका लागि गएको हुनसक्ने बताइएको छ।

    त्यस्तै अन्य मृत्यु हुनेहरूमा सिङ्ताम गोलीटार निवासी ३९ वर्षीय रामकुमार शर्मा, सोही ठाउँकी ३२ वर्षीया रुबिदेवी शर्मा र १० महिनाको बालक भूषण शर्मा छन्। अन्य ६ जनाको यो समाचार तयार पार्दासम्म परिचय खुलेको छैन। बाढीले १४ वटा ठूला पुल बगाउँदा मुख्य राजमार्ग बन्द भएको सिक्किम सरकारको विज्ञप्तिमा उल्लेख छ।

    बाढी पहिरोमा परी चार जिल्लाका मानिस प्रभावित भएको छ। मंगन जिल्लाका १६ जना बेपत्ता छन्। त्यहाँका करिब १० हजार मानिस प्रभावित भएको बताइएको छ। गान्तोक जिल्लाका सिंगतामबाट १५ जना बेपत्ता भएका छन्। त्यहाँका करिब १ हजार २५ जना विस्थापित भएका छन्। पाक्योङ जिल्लाका १ सय ५० पक्की र १ सय २७ कच्ची घरमा क्षति पुगेको जनाइएको छ। त्यहाँका ५६ जना विस्थापित भएका छन्।

    त्यस्तै नाम्ची जिल्लामा बाढीले प्रभावित र विस्थापित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ। बाढीले सिङ्तामनजिकै बरदाङमा पार्किङ गरिएका सेनाका सवारीसाधनमा क्षति पुर्‍याउनका साथै त्यहाँ रहेका २३ सैनिक बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। टिस्टा नदीले बगाएर ल्याएको तीन जनाको शव पश्चिम बंगालको गाजलडुब्बा टिस्टा ब्यारेजनजिक फेला परेको छ। उनीहरूको परिचय खुलेको छैन।