विराटनगरः प्रदेश खारेजीको माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ। सचेत नागरिक अभियानका नाममा प्रदेश खारेजीको माग गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीले ‘जागौं जनता जागौं, प्रदेश सरकार चाहिँदैन देश डुबाउन पाउँदैन। सारा नेपालीको एउटै आव्हान, प्रदेश खारेजीको एउटै अभियान’ भन्ने मूल नारासहित प्रदेश खारेजीको माग राख्दै नाराबाजी गरेका थिए।
कञ्चनबारी चोकमा नाराबाजी गर्दै सुरु भएको उनीहरुको विरोध मोटरसाइकल र्याली नगरको कोशी लोक मार्गको रोडशेष चोक, मेन रोड, पुष्पलाल चोक, खार्जी चोक हुँदै पुनः कञ्चनबारी आएको समाप्त भएको थियो।
नागरिक अगुवा प्राडा भेषप्रसाद धमला, शिक्षाविद् भेषराज पोखरेल, अभियानका सदस्य राजेन्द्र खनाल लगायतले सचेत नागरिक अभियानका बारेमा प्रष्ट पारेका थिए। उनीहरुले मर्म अनुसार सङ्घीयताको सदुपयोग गर्न नसक्दा देश अन्योलतर्फ गएको बताए।
प्रदेश संरचना जनताले जुन अपेक्षा र आकांक्षले स्थापित गराए त्यसको ठीक विपरीत दलहरुले काम गर्दा अहिले जनतामा प्रदेश संरचनाप्रति वितृष्णा बढ्दै गएको र जन आन्दोलनबाट स्थापित प्रदेश संरचना जनताको भावना विपरीत गएकाले अब प्रदेश संरचना खारेजी हुनुपर्ने उनीहरुको माग थियो।
प्रदेश संरचनाबाट जनताले प्रत्यक्ष लाभ लिन वा नेताहरूले जनताको भावना अनुसारको प्रदेश बनाउन नसक्दा देश बर्वादीतर्फ गएको उनीहरुको तर्क थियो। दल र दलका नेताहरूले जनताको भावना बुझ्न नसक्दा अहिले समस्या आएको उनीहरुले बताए।
उनीहरुले यो आन्दोलन कुनै दल विशेषको विरोधमा नभई स्वतः स्फूर्त देश बचाउनका लागि अभियान चलाएको बताए।
प्रदर्शनकारीले मुलुकलाई भार पर्ने हिसाबले ल्याइएको प्रदेश खारेजी हुनुपर्ने, महँगी र कालो बजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका नारा लगाएका थिए।यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।