झापाः सरकारले भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि नेपाली महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध लगाए पनि जाने क्रम भने रोकिएको छैन ।
माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सन् २०१८ मा यसरी हिँडेका २ सय ५९ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाएको जनाएको छ । कार्यालयका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले जारी गरेको प्रेस नोटमा सो अवधिमा २४ जनालाई विदेशका विभिन्न स्थानबाट उद्दार गरी नेपाल फर्काइएको उल्लेख छ ।
पूर्वी नाकामा ९१ जनालाई आवश्यक सोधपुछ र अनुसन्धानपछि नेपाल नै फर्काइएको संयोजक घिमिरेले जारी गरेको प्रेस नोटमा छ । एक वर्षे अवधिमा संस्थाले मानव बेचबिखनसम्बन्धी ३ वटा तथा जबरजस्ती करणीको ५ वटा मुद्दा दर्ता गरेको जनाइएको छ ।
घरेलु हिंसामा परेका ३ जनालाई सहयोग गरेको तथा १६ हजार १ सय १३ वटा विभिन्न प्रकारका सवारी साधनको चेकजाँच गरेको पनि बताइएको छ । १ हजार ८ सय ६९ लाई सुरक्षित बसाइँसराइँको बारेमा जानकारी गराइएको संयोजक घिमिरेले जानकारी दिए ।
संस्थामा १ वर्षमा १ सय ७९ जना मानिस हराएको निवेदन परेको र तीमध्ये ५८ जना फेला पारी आफन्तको जिम्मा लगाइएको बताइएको छ ।
घरेलु कामदारका रूपमा राम्रो कमाइ हुने ठाउँमा पु¥याइदिने भन्दै विभिन्न प्रलोभनमा पारी एजेण्टले नेपाली महिला भारतको बाटो हँुदै लिएर जाने र भारतका विभिन्न स्थानमा सञ्चालनमा रहेका वेश्यालयमा बेच्ने गरेको पाइएपछि भारत हुँदै वैदेशिक रोजगारीमा जान रोक लगाइएको हो । तर, पनि अज्ञानताका कारण धेरै नेपाली महिला भारत हुँदै खाडी मुलुक जाने गरेका छन् ।
विशेषगरी, बाहुनडाँगी र सतिघट्टा हँुदै मेचीनगरका अन्य नाकाबाट एजेण्टले लिएर जाने गरेको पाइएको संयोजक घिमिरे बताउँछन् ।
रोजगारीका लागि गएका धेरै नेपाली चेलीबेटीहरु दलालको फन्दामा परि बेचिने गरेको र धेरै ठाउँबाट आफूहरूले उद्धार गरी ल्याएको घिमिरेले बताए । तर पीडित पक्षको असहयोगकै कारण धेरै गिरोह उम्किन सफल भएको स्थानीय प्रशासनको भनाइ छ ।