खोटाङः खोटाङको रावाबेंसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन ढङ्गले बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् ।

३ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी शुभ एण्ड ध्रुव कन्ट्रक्सन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि काम सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालो र गैंतीले खनेर भवन भत्काएका हुन् ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए । भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह गर्दा पनि ठेकेदारले अटेर गर्दै गुणस्तरहीन सामग्री प्रयोग गरेकाले निर्माणाधीन भवन भत्काएको बताएका छन् ।

प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टीको प्लास्टरलगायत भत्काइदिएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।

भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए । भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि २ इञ्चमात्र ढलान गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन पाइएको बताइएको छ ।

गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयले बताए ।

निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकारेका छन् । गाउँपालिकाको खबरदारीपछि पुनः भत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको राईले बताए ।

भवन निर्माणका लागि दोस्रोपटक थपिएको म्यादसमेत गत मङ्सिर १५ गते सकिएको गाउँपालिकाले जनाएके छ । ठेकेदार कम्पनीले ७६ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको भवन ४ कोठे हुने बताइएको छ ।