धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।

नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् ।  चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । पदाधिकारीहरूलाई नै बचाउने  चिकित्सकहरूको समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएको डा. मधुर बस्नेतले जानकारी दिए ।

कुलपति सकरात्मकः चिकित्सक

स्वास्थ्य मन्त्रीबाट निरास भएका चिकित्सकहरूले बुधबार साँझ प्रधानमन्त्री एंव प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले सबै प्रक्रिया पूरा गरेर चिकित्सकहरूको समस्या समाधान गर्न निर्देशन दिएका छन ।  प्रधानमन्त्री दाहालले लोकसेवा आयोग र प्रक्रिया मिलाउन  बिहिबार निर्देशन दिएको बताइएको छ ।

‘कुलपति ज्युले हामीलाई सान्त्वना दिनु भएको छ । अब २४ घण्टा भित्र हाम्रो मागलाई सम्बोधन पदाधिकारीहरूले गरे पछि मात्र काममा फर्कन्छौ।’ डा. बस्नेतले भने  ‘राजिनामा गरिसकेकाले त्यतिकै फर्कने कुरा हुदैन ।’

उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।