धरानः रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग राख्दै आन्दोलनरत चिकित्सकले सामूहिक राजीनामा दिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट गहिरिँदै गएको छ ।
प्रतिष्ठानका एक सय ५० जना चिकित्सक शिक्षकले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष गत मंगलबार सामूहिक राजीनामा बुझाएपछि प्रतिष्ठानका सम्पूर्ण सेवा थप प्रभावित बन्दै गएका छन् । पाँच दिनयता प्रतिष्ठानमा उपचार सेवा प्रभावित बनेको छ भने विद्यार्थीको पठनपाठन ठप्प भएको छ । सात महिनायता रोकिएको बढुवा प्रक्रिया सरोकारवाला निकायको सहमतिमा एक महिनाभित्र सुरु गर्ने प्रतिष्ठानसँग गत २४ भदौमा प्रतिष्ठान र आन्दोलनरत पक्षबीच सहमति भएको थियो ।
तर, महिना दिन बितिसक्दासमेत माग पूरा गर्नेतर्फ प्रतिष्ठानले चासो नदिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका एक सय ५० जना चिकित्सक प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहकुलपतिसमेत स्वास्थ्यमन्त्री बस्नेतलाई भेट्न गत सोमबार काठमाडौं गएका थिए । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेट गरेर आन्दोलनरत चिकित्सकहरू प्रतिष्ठान फर्किसकेका छन् । तर, माग पूरा नभएसम्म काममा नफर्कने जनाएपछि विद्यार्थीको पठनपाठन ठप्प छ भने उपचार सेवा प्रभावित बनेको छ । पठनपाठन ठप्प बनेपछि शुक्रबार विद्यार्थीले समेत प्रदर्शन गरेका छन् ।
विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। ओशान्ति रजकले प्रतिष्ठानमा पठनपाठन अवरुद्ध हुन नहुने बताए । उनले भने, ‘प्रतिष्ठानमा विभिन्न समयमा आन्दोलन मात्रै हुने र पठनपाठन अवरुद्ध हुने भइरहेकाले अब तत्काल दुवै पक्ष बसेर समस्या समाधान गर्नुपर्छ ।’ राजीनामा दिएर फर्किएका चिकित्सक एडिस्नल प्रोफेसर डा। रोविन मास्केले स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको बताउँदै चाँडै टुंगो लाग्नेमा आफूहरू आशावादी रहेको बताए ।
गत मंगलबार प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै अस्पतालमा शिक्षकहरू अनुपस्थित हुँदा प्रतिष्ठानका आकस्मिक, आइसियू र अन्तरंग तथा वहिरंगका सम्पूर्ण सेवा प्रभावित हुने र पूर्ण क्षमतामा अस्पतालले सेवा दिन नसक्ने जनाएको छ । यद्यपि, अस्पताल उपनिर्देशक डा। इन्द्र लिम्बूले रुटिनको शल्यक्रिया सेवाबाहेक अस्पतालमा अन्य सम्पूर्ण सेवा सञ्चालन भइरहेको बताए ।
प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसन प्रोफेसरहरूको सात वर्षदेखि रोकिएको आन्तरिक पदपूर्ति तथा बढुवा प्रक्रिया सात महिनाअघि सुरु भएको थियो । तर, लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०६९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् ।
प्रतिष्ठानमा कार्यरत एक सय ३० जना फ्याकल्टी शिक्षक र करिब १२ सय कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ । प्रतिष्ठानमा दैनिक २५ सयदेखि तीन हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।