फाइल तस्बिर
झापाः नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मनैदेखि काङ्ग्रेस भएर अघि बढ्न कार्यकर्तालाई सुझाव दिएका छन् ।
झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसको सप्ताहव्यापी कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रवक्ता शर्माले पार्टी एकता र पार्टी विस्तारका लागि जुनसुकै र जस्तोसुकै भूमिका निर्वाह गर्न सबै कार्यकर्ता तयार रहनुपर्ने बताए ।
काङ्ग्रेसको महासमिति बैठकले पार्टीभित्रका गुटउपगुटको अन्त्य गरेको बताउँदै उनले ‘अब काङ्ग्रेसमा कुनै पनि गुटको अस्तित्व नरहेको बताए । नेता शर्माले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्ष भएर जनताका अधिकार र समृद्धिमा सक्रिय भूमिका निर्वाह गरी आएको र आगामी दिनमा पनि त्यस्तो भूमिकालाई अझ सबल बनाउने बताए ।
कार्यक्रममा काङ्ग्रेसका जिल्ला सदस्य बद्री कार्कीले राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियता र स्वाधीनताको लागि पुनः सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने आवश्यकता भएको उल्लेख गरे ।
काङ्ग्रेस नगर सभापति यादवराज सेढाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय सांसद् महेन्द्रकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहलगायतले आफ्नो धारणा राखेका थिए ।