विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानुनअनुसार कारवाही गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने पनि बताए । निर्मला पन्तको बलात्कार र हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको उनको भनाइ थियो ।

प्रमाण मेटाएर नै अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म काङ्ग्रेसले यो मुद्दालाई नछोड्ने उल्लेख गरे ।

कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उनले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्ने बताए ।