धनकुटाः एक गाउँ एक कृषि तथा पशुसेवा अन्तर्गत स्थानीय तहमा खटिएका प्राविधिकहरूले दरबन्दी कायम गरी स्वतः स्थायी गरिनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्राविधिकहरूको पेशागत सङ्गठन नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हक हित संरक्षण समिति धनकुटाले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तत्कालै प्रधानमन्त्री कार्यालयमा सो ज्ञापन पत्रलाई पठाउने बताएका थिए ।

तत्काल नेपाल निजमती सेवा ऐन परिमार्जनको चरणमा रहँदा निजामती सेवा ऐनको दफा ८ मा रा.प.अन. द्वितीय पद नरहने व्यवस्था गर्न खोजिएको कर्मचारीले बताएका छन् । हालसम्म प्राविधिक विषयमा अध्ययन पूरा गरेको टिएसएलसी, कृषि भेटेरिनरी, अमिन लगायतका प्राविधिक पद कायम गरी खुला विज्ञापनमार्फत् पदपूर्ति गरिनुपर्ने संरक्षण समितिका धनकुटा अध्यक्ष शेखर चापागाईंले बताए ।

१ गाउँ १ कृषि तथा पशु सेवा प्राविधिक सिर्जना भएपछि देशभरी नै कृषि क्षेत्रमा उल्लेख्य सुधार हुनुका साथै कुल गार्हस्थ उत्पादनमा वृद्धि भएको विज्ञप्तीमा उल्लेख छ । सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत् समायोजन गर्ने प्रकृयामा रहँदा प्राविधिकको विषयमा कुनै विषय उल्लेख नभएको र अन्योल सिर्जना भएकाले प्राविधिकको व्यवस्थापनका लागि जोडदार माग गर्दै ज्ञापन पत्र बुझाएको उनले बताए ।

धनकुटाका विभिन्न स्थानीय तहमा गरी कृषितर्फ ११ र पशुसेवा तर्फ १२ जना प्राविधिक कार्यरत रहेको पनि उनले जानकारी दिए ।