इनरुवाः सरकारले गाउँगाउँमा कृषि प्राविधिक पु¥याउने उद्देश्यले शुरु गरेको एक गाउँ, एक प्राविधिक कार्यक्रम अन्तर्गत काम गर्ने कर्मचारीले आफूहरूलाई स्थायी गर्न माग गरेका छन् । मन्त्रिपरिषद्को निर्णयको आधारमा कृषि विभाग र पशु सेवा विभागले २०७३ मा सो कार्यक्रम लागू गरेको थियो । सोही कार्यक्रमका कर्मचारीले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समायोजन ऐन बाटै स्थायी गर्न माग गरेका हुन् ।
‘सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत् ज्ञापनपत्र बुझाउँदै एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका छाँै’, वराहक्षेत्र नगरपालिकामा कार्यरत पशु प्राविधिक रवीन्द्र कोइरालाले भने, ‘हामी सबै कर्मचारी लोकसेवाको प्रक्रियाले नै नियुक्त भएकाले स्थायी गर्न माग गरेका हौँ ।’
ज्ञापनपत्रमा स्थानीय स्तरमा प्रवाह हुने कृषि प्रसार सेवालाई सहज र सरल तरिकाले उपलब्ध गराउँदै आएको प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । ‘कम लागत र समयमा नजिकको थलोबाट सेवा उपलब्ध गराउँदै कृषि प्रसार सेवाको पहँुच बढाउनुका साथै कृषि सेवा प्रदायक र सेवाग्राही जनताबीचको दूरीलाई कम गराउन प्राविधिकहरूले सहयोग महत्वपूर्ण छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हक हित संरक्षण समितिको सुनसरी जिल्ला अध्यक्ष चन्द्र कटुवालले हस्ताक्षर गरेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उप्रेतीलाई बुझाइएको हो । सो ज्ञापनपत्रमा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक सञ्चालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोकसेवा आयोगको मापदण्ड लिखित र मौखिकका आधारमा छनौट भएर करारमा हाल स्थानीय तहमा आफूहरू खटिएको जनाइएको छ ।