दोहाः झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।

एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी ।

नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको अथक प्रयासपछि मृतकको पार्थिव शरीरलाई मंगलबार नेपाल पठाउन सफल भएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार मृतकको शवलाई आफ्नै गृहनगर झापामा किराँत संस्कृतिअनुसार अन्त्येष्टि गरिएको जानकारी एनआरएनए आरसीसीका वरिष्ठ उपाध्यक्ष काजीमान कन्दङ्वावाले दिएको बताए । साथै मृतक केरुंगो पाउनुपर्ने बाँकी तलब तथा सुविधाबापतको ६ हजार ६ सय साउदी रियाल जिल्ला प्रशासन कार्यलय झापामार्फत मृतकको परिवारलाई हस्तान्तरण गरिएको पनि उनले बताए ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी मृत्यु हुने गरेको देखिएको छ ।

विशेषगरी, श्रम गन्तव्य देशहरूमा मृत्यु हुने क्रम बढ्नुमा बस्ने बासस्थान, खानपान, व्यवसायजन्य सुरक्षा र काम गर्ने क्रममा अपनाइने सुरक्षाका उपाय कमजोर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणमा पास भएका स्वास्थ्य व्यक्तिले मात्र वैदेशिक रोजगारीको यात्रा गर्न पाउँछन् ।

स्वास्थ्य परीक्षण गराएर स्वस्थ ठहरिएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ज्यान जानुमा कुनै घातक रोगको कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर हुनु मुख्य कारण भएको एक अध्ययनले देखाएको छ ।

यस्तै, कारणले गर्दा विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । गत आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३ सय २७ जना रहेकोमा १ हजार २ सय ५ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।