वराहक्षेत्रः  सप्तकोसी नदीमा सञ्चालन रहेको पानी बोटलाई व्यवस्थित गर्न वराहक्षेत्र नगरपालिकाले चासो देखाएको छ । चाडबाड लागेसँगै जेट बोटमा यात्रा गर्ने युवाहरूलाई मध्यनजर गरेर नगरले सुरक्षामा समेत चासो देखाएको हो । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चतरा घाटबाट भोजपुरको सिम्लेसम्म जल यातायातको रूपमा सञ्चालनमा रहेको पानी बोटलाई व्यवस्थित र सुरक्षात्मक रुपामा सञ्चालन गर्न सरोकारवाला हरूसँग नगरपालिकाले आइतबार चतरा घाटमा छलफल गरेको छ । 

सप्तकोसीमा सञ्चालनमा रहेको पानी बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, भाडा दर र पानी बोटको स्टेन व्यवस्थापनको विषयमा सञ्चालक हरूसँग कुरा भएको नगरप्रमुख रमेश कार्कीले बताए। 

नगरपालिकाले बोट सञ्चालक हरूलाई पर्यटन मैत्री बनाउन समेत आग्रह गरेको छ । नगर प्रमुख रमेश कार्कीसहित वडा नम्बर १ का अध्यक्ष किसान मगर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना, सशस्त्र प्रहरी बेस क्याम चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले सहितको टोली पानी स्टेसन चतरा घाट पुगेका थिए । 

आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षण बन्दै आएको पानी बोटले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउदै आएको छ । बोट सञ्चालकहरूले  व्यवस्थित स्टेन थप गर्न नगरपालिकासँग माग गरेका छन् । 

दक्षिण भोजपुर, उदयपुर र धनकुटाका बासीहरूका लागि पानी बोट छिटो जल यातायात साधन बनेको छ । वराहक्षेत्र बोटको नियमित मर्मत, सुरक्षाका साधन  समेत बोटमा राख्नु पर्ने विषयमा सञ्चालक हरूलाई सुझाएको नगरपालिकाले जनाएको छ । छलफल कार्यक्रममा बोट सञ्चालकहरूले यात्रुहरूको सुरक्षा, सुविधा र सेवालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।