धनकुटाः  आफ्ना नेताको बिनासर्त रिहाइको माग राख्दै प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिले मङ्गलबारदेखि गरेको धनकुटा बन्द खुलेको छ । पक्राउ परेका नेता तथा कार्यकर्ता बिनासर्त छाड्ने प्रक्रियामा जाने सहमति भएसँगै बन्द खुलेको सङ्घर्ष समितिका धनकुटा फोनिज कोशी प्रदेश संयोजक सन्तवीर लामाले जानकारी दिए । तर प्रशासनले नछाडेमा पुनः बन्द गरिने जनाइएको छ ।

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने बन्दकर्तासँग संस्थागतरुपमा कुनै वार्ता छलफल नै नभएको बताए । व्यक्तिगत रुपमा बन्द नगर्न आग्रह गरिएको र सोही आग्रह स्वीकार गरी बन्द खुलाएको हुन सक्ने उनको भनाइ छ ।

बन्दका कारणले धेरै यात्रु तथा सवारीसाधनलाई सास्ती भएका कारण प्रशासनले चाँडो समस्या समाधान गर्नुपर्ने स्थानीय र यात्रुको माग छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले छलफलबाट समस्याको समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।

गत भदौ ८ गते धनकुटाको राजारानीमा भएको युवा सङ्घको कार्यक्रममा पहिचानवादीहरुले हस्तक्षेप गरी तोडफोड गरेका थिए । सोही घटनाको विषयलाई लिएर धनकुटा प्रशासनले यही असोज २५ गते चौबिसे गाउँपालिका–६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई पक्राउ गरेको थियो ।

पहिचानवादीले भने पक्राउ परेका कार्यकर्ता रिहाइ नगरे ३० गतेबाट धनकुटा छिर्ने नाका बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुरुप आज बिहानैबाट धनकुटा बन्द गरेका थिए । जसका कारण धनकुटाको जनजीवन प्रभावित भएको थियो । बन्दका कारण दसैँ मनाउन हिँडेका हजारौं यात्रु धनकुटाको भेडेटार र फोक्लेन टापुमा सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका थिए । गोरखापत्रबाट