भोजपुरः इलाका प्रशासन कार्यालय दिङ्लाबाट राहदानी वितरणको शुरु भएपछि स्थानीय खुशी भएका छन् । भोजपुरको सदरमुकामसम्म आउनको लागि स्थानीयवासीलाई समस्या भएपछि उत्तरपूर्वी दिङ्लाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
राहदानी वितरण शुरु भएसँगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकामसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । दिङ्ला इलाकाबाट षडानन्द नगरपालिकाका १४ वटा वडा र साल्पासिलिछो गाउँपालिकाका ६ वटा वडाका बासिन्दाले सेवा लिँदै आएका छन् ।
सेवा क्षेत्रको केन्द्र भागबाट नै राहदानी वितरणको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । भोजपुर सदरमुकामसम्म जाँदा दुई÷तीन दिनसम्म लाग्ने समय र पैसाको बचत भएको स्थानीय बताउँछन् ।
विसं २०५६ मा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय कागजात प्रमाणितसँगै राहदानी सिफारिशलगायतको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । इलाका प्रशासन कार्यालयले गत पुस १ गतेबाट नागरिकता वितरण शुरु गरेको बताइएको छ ।