धरान/ जनप्रतिनिधि आएपछि धरान उपमहानगरपालिकाले आन्तरिक आयको अनुमान बढाएर चालु आर्थिक वर्षमा १३ करोड ५० लाख पु¥याएको थियो । आम्दानी अनुमान गरिएअनुसार नै धरानमा बजेट तथा योजनाहरू तर्जुमा गरिएको थियो ।
चालु आर्थिक वर्षको ३ महिना बाँकी हुँदा भने धरानको आन्तरिक आम्दानीको आँकडा सखद हुन सकेको छैन । चालु आर्थिक वर्षको चैत मसान्तसम्म अनुमानित आयमा ५० प्रतिशत मात्र प्रगति भएको छ । उपमहानगरले अनुमान गरे अनुसार आम्दानी हुन नसक्दा नगरका थुप्रै योजनाहरू कटौती हुने देखिएको छ । चैत मसान्तसम्म ६ करोड ८२ लाख ५१ हजार ७ सय ७७ मात्र आम्दानी भएको उपमहानगरको आर्थिक प्रशासन महाशाखाले जनाएको छ । प्रतिशतमा यो ५० दशमलव ५६ प्रतिशत मात्र हो । आर्थिक वर्षको अन्तिम समयमा राजस्व तथा कर संकलन बढी हुने गरे पनि यो वर्ष साढे ९ करोडको हाराहारीमा मात्र संकलन हुने महाशाखा प्रमुख भेषराज अधिकारीले जानकारी दिए । ‘आम्दानी हामीले अनुमान गरेभन्दा कम हुने देखिएको छ, यो वर्ष साढे ९ करोड मात्र आम्दानी हुन सक्ने देखिन्छ,’ उनी भन्छन् ।
अनुमान गरिएको भन्दा ४ करोड कम आम्दानी हुने भएपछि त्यसैअनुसारको खर्च कटौती गर्नुपर्ने महाशाखा प्रमुख अधिकारीको भनाइ छ । उनका अनुसार बजेट तयार गर्दा नै यथार्थमा आधारित नहुँदा यो अवस्था भएको हो । बजेट तयार गरिएपछि ती शीर्षकको आम्दानी असुल गर्न पनि थप योजना बनाएर कार्यान्वयन गर्न उपमहानगरपालिका चुकेको उनी बताउँछन् । ‘चार करोड भनेको ठूलो बजेट हो, यसले प्रशासनिक खर्च र योजनाहरूमा कटौती गर्नुपर्ने हुन्छ,’ उनले भने । आम्दानी कम हुनुमा बजेट तयार गरिँदा राजस्व संकलन हुनै नसक्ने शीर्षकलाई पनि समेटिनु मुख्य कारण भएको कर निरीक्षक शारदाप्रसाद भट्टराई बताउँछन् । उनका अनुसार विद्युत पोल शुल्क, विद्युत ट्रान्सफर्मर शुल्क, टेलिफोन शुल्क, कुकुर दर्ता शुल्कजस्ता शीर्षकमा पनि आम्दानी बाँधिएको थियो । तर, यी शीर्षकको राजस्व संकलनमा कुनै प्रगति हुन सकेको छैन । उपमहानगरले पनि कसरी यी शीर्षकमा कसरी आम्दानी बाँध्ने भनेर कुनै योजना बनाएको छैन ।
चालु आर्थिक वर्षमा विद्युत पोल शुल्कमा ५४ लाख ४२ हजार ८ सय आय अनुमान गरिएको छ भने विद्युत ट्रान्सफरमर शुल्कमा ३ लाख १२ हजार, टेलिफोन पोल शुल्कमा ७ लाख ५० हजार, कुकर दर्ता शुल्कबापत १८ लाख आम्दानीको अनुमान छ । तर, चैत मसान्तसम्म यस्ता शीर्षकमा कर असुली भएको छैन । धरानका प्रमुख आम्दानीको स्रोत भनेको एकीकृत सम्पत्ति कर हो । यो आर्थिक वर्षमा डेढ करोड संकलन हुने अनुमान गरिएको छ । चैत मसान्तसम्म ९५ लाख ८४ हजार संकलन भइसकेको छ ।
चालु आर्थिक वर्षको आम्दानीको अनुमान अघिल्लो आर्थिक वर्षको भन्दा पौने २ करोड बढी थियो । गत आर्थिक वर्षमा ११ करोड २७ लाख ९० हजार आम्दानी अनुमान गरिए पनि त्यस वर्षको यथार्थ आम्दानी भने ८ करोड ४२ लाख ९२ हजार ९ सय ३८ मात्र रहेको थियो । विगतका वर्षहरूमा पनि यथार्थमा आन्तरिक आम्दानी न्यून भएको वास्तविकतालाई बेवास्ता गर्दै जनप्रतिनिधिहरूले चालु आर्थिक वर्षको बजेट तर्जुमा गरेका थिए । आर्थिक क्षेत्रका विज्ञहरू भने जनप्रतिनिधिहरू आएपछि हौसिएर यथार्थमा आधारित बजेट तथा योजना तर्जुमा नगर्दा र राजस्व असुलीलाई प्रभावकारी नबनाउँदा यस्तो अवस्था आएको टिप्पणी गर्छन् । अर्थशास्त्रका प्राध्यापक डा. राजेन्द्र शर्मा न्यून राजस्व संकलन हुनुमा वास्तविकताभन्दा धेरै आम्दानी अनुमान गरिनु मात्र कारण भएको मान्दैनन् । विज्ञ एवं प्राविधिकहरूसँग परामर्श र छलफल नगरिँदा त्यस्तो हुन पुगेको उनको भनाइ छ । ‘राजस्व असुली प्रभावकारी छैन, अनुमान पनि वास्तविकताभन्दा धेरै छ । प्राविधिकहरूसँग परामर्श पनि गरिँदैन र नगरपालिकाको असुलीको प्रभावकारिता पनि कमजोर छ,’ उनले टिप्पणी गर्दै भने, ‘राजस्व कम असुली हँुदा योजनाहरू अर्काे वर्षलाई सर्ला, क्रमागतमा रहला तर कार्यदक्षता र क्षमतामा प्रश्नचिह्न उठ्छ ।’