इलामः नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व दशैंले बाल्यकाल सम्झाउँछ । कति उल्लास र उमङ्गले भरिन्थ्यो मन ! तिजसँगै दशैको रौनक सुरु हुन्थ्यो । जब सोह्र श्राद सुरु हुन्थ्यो तब दशैका तयारीका लागि गर्नुपर्ने काम शुरु हुन्थ्यो । घरमा रङ्ग लगाउने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटाबाट सफा गर्ने कामको लिस्ट तयार हुन्थ्यो । दशैका लागि तयार गरेको बारीमा पाकेको काँक्रोको खल्पिको अचारको बट्टा पेटिमा घाम तापिरहेको हुन्थ्यो । पालो पालोसँग आधा रातसम्म ढिकी घरमा रमाइलो गर्दै चिउरा कुट्दै गर्दाको दशैले आज मन लोभ्याईरहेको छ ।

स्कुलको ड्रेस र टीकाको दिनमा लगाउने अर्को ड्रेस बर्षमा एकैपटक दुई जोर कपडा पाउने दशै कहिले आउलाझै हुन्थ्यो । कुनैकुनै बर्ष बाबाले स्कुल ड्रेस नयाँ नै छ अहिलेलाई यसैले चलाउनु नयाँ किन्नु पर्दैन भन्नु भयो भने रोइकराई गरेर किन्न लगाएको लुगा दशैको बिदापछि स्कुल जाँदा सबै साथीहरूका नयाँ चप्पल, नयाँ ड्रेस देखाउने होडबाजी चल्थ्यो ।

वर्खापछि खुलेको त्यो आकाश र लागेको चहकिलो घामले दशैे आएको अनुभुति दिन्थ्यो । घटस्थापनाको दिनदेखि विद्यालय छुट्टी हुन्थे । आकाश खुलेको हुन्थ्यो । गाउँ घरमा गोरेटा बाटो खन्नेर दशैमा आउने पाउनालाई सजिलो बनाउँदै गर्दाको अनुभूतिले दशै आएझै हुन्थ्यो । गाउँमा अझै पनि दशंै दशैं जस्तै छ । काम काजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु घर फर्कने समय आहा ! कति रमाइलो । सहरमा पनि हुन्छ यो प्रक्रिया तर, यहाँ कसैलाई कसैको महत्व हुदैन ।

घरमा कमेरो र रातो माटोले लिप पोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्ग्रेमा राखेर लिप पोत गर्दे गर्दा दशै आएको छुट्टै आनन्द हुन्थ्यो । दशैका लागि भनेर खेतको काँल्लामा घाँस साँच्ने गरिन्थ्यो ।

गाउँ घरका युवा देखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको ४ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बिहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो । विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन् ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउछन । युवाहरु रोजगारीको लागि प्राय खाडी मुलुकमा गएका छन । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ । पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लुठो बाटन र ४ वटा बास गाडन कम्तिमा ८ र १० जना आवश्यक पर्दछ । तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो तर गाउँघरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा हुनुले पनि लिङगे पिङ लोप हुदै गएको हो ।

दसैँका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गरिन्थ्यो । छोरीचेलीका लागि मिठोमसिनो जुटाउन गाउँघरमा ऐँचोपैँचोको गर्ने चलन थियो । दसैँ नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइनभ्याइ हुन्थ्यो । खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो ।

घर रातो माटो र कमेरोले पोतिएर सजिसजावट हुन्थे । दसैँ नजिकिँदै गर्दा गाउँमा ढिकीको आवाज सुनिन्थे, तर अहिले सबै चिज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनुपथ्र्यो केही दशक अघिसम्म । तर, अहिले जुनै समयमा पनि नयाँ लुगा किन्ने र लगाइने गरेको छ । नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन् ।

साना नानीहरू मावली जाने आउने रौनक पनि खासै महत्व हुन छाडेको छ । खर्चका लागि जोहो गर्न मुग्लान पुगेका युवाहरू पनि दसैँमा घर फर्किन्थे । परिवारसँग मिठो मसिनो खाएर दसैँ मनाउने प्रचलन थियो । तर, अहिले त्यस्तो छैन । गाउँगाउँ सडक सञ्जाल पुगेको छ । साना तथा ठूला सवारीसाधान गुडिरहेका हुन्छन् ।

वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि हराईसकेको छ यतिबेला । दसैँको आगमनसँगै खेतमा धान पहेंलपुर हुन्थे । पहेंलिएका धानका बाला खेतभरी झुलिन थालेपछी दसैँ आएझैँ हुन्थ्यो । तर, अहिले धान फल्ने खेतहरू बाझैँ छन् । बजारमा आश्रित बनेका छन् गाँउघर । अचेल बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैँ कुरी रहनु पर्दैन ।

अहिले शहरीकरण र बसाइँसराइले गर्दा पनि पहिलाको तुलनामा दशैंको त्यो रौनक हराउँदै गएको छ । नयाँ लुगा लगाउन र मिठो खान दशैं नै कुर्नु पर्छ भन्ने कुरा हराएको छ । पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एक गाउँठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र छ । परिणाम आफ्ना र आफन्तबीचमा दुरी बढेको छ ।

अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन । रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ । जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ । जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।