काठमाडौंः ‘वैदेशिक रोजगार विभागका कर्मचारीहरू पीडितबाट लाखौंलाख ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुरालीमा झैं स्वागत गर्छन्,’ विभाग पुगेकी एक पीडितले आक्रोशित हुँदै भनिन्, ‘महिनौं विभाग धाउँदा पनि न्याय पाइँदैन। विभागका कर्मचारीहरू म्यानपावरकै पक्षमा हुन्छन्। विभागका वरिष्ठ कर्मचारी उल्टै हामीलाई थर्काउँछन्। म्यानपावरवालाले तिमीहरू जे सुकै गर, हाम्रो पहुँचमा मान्छे छन् भन्दा विभागका कर्मचारी मौन बस्छन्।’

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।

‘तपाईंहरू आफैं बेइमान हो। एकचोटि भनेको बुझ्नुहुन्न। १० चोटि भन्नुपर्छ। काम गर्दै त छौं नि? धैर्य भन्ने छैन,’ यसरी विभागका कर्मचारी र म्यानपावर सञ्चालकको एकै बोलीमा गाली गरेको बताउँछिन काभ्रेकी जानु लामा। स्वदेशबाट श्रम स्वीकृत लिएर मलेसिया पुगेका ३० वर्षीय गगनबहादुर लामा उनका भाइ हुन्। मलेसिया गएका आफ्ना भाइलाई स्वदेश फर्काइदिन आग्रह गर्दै उनी विभाग धाइरहेकी छन्।‘भाइ मलेसिया पुगेको आठ महिनादेखि दैनिक १२ घन्टाभन्दा बढी समय काम गर्दै आए पनि तीन महिनादेखिको तलब र खाना खर्चसमेत दिएको छैन। पैसाबिना स्वदेशमा त बाँच्नलाई गाह्रो छ। विदेशमा उसको के हालत होला?’ गगनबहादुरकी दिदी जानुले भनिन्।

‘दिदी यहाँ मसहित २७ जना नेपालीको बिचल्ली छ। महिनाभरि खटिएर काम ग¥यो, सुको पैसा आउँदैन। बिरामी भाको छु,’ भाइको भनाइ उद्धृत गर्दै जानुले भनिन्।  

औषधीमुलो गरौं भन्दा कम्पनीले सुन्दैन। उपचार किन गर्नुप¥यो ? तिमीहरू मरे बाकसमा नेपाल पठाइदिउँला भन्छन्। मलाई आफ्नै देश फर्किनु छ,’ भाइलाई उद्धृत गर्दै जानुले भनिन्।

भाइ मलेसिया पुगेदेखिका समस्यालाई लिएर सयौं पटक म्यानपावर धाउँदा पनि उक्त एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल म्यानपावरका सञ्चालक राधा केसीकै ठुलो स्वर हुने गरेको जानु बताउँछिन्।

उक्त म्यानपावर कम्पनीलाई २ लाख १० हजार तिरेर उनी मलेसिया पुगेका हुन्। मासिक तलब १५ सय रिंगेट हुन्छ भनिएको थियो। भाइलाई अर्को ठाउँमा सार्न या स्वदेश फर्काइदिन म्यानपावर सञ्चालक केसीलाई जानुले अनुरोध गर्दै आएको उनी बताउँछिन्।

यसरी बिन्ती बिसाउने क्रममा म्यानपावर सञ्चालक केसी र रिजन श्रेष्ठलगायत अन्य तीन कर्मचारीले सधैं गालीगलौज गर्दै गरेको क्षण सम्झिन्छिन्। ‘तिमीहरूको मात्र काम हो यहाँ। अरूको काम हुँदैन। सधैं एउटै कुरा लिएर मात्र आएको छ। त्यो गगन नै त्यस्तै छ। अरू सबैलाई त्यहाँ काम भइरहेको छ। तिमीहरूलाई मात्र नहुने। कहाँ गएर के गर्नपर्छ गर्दा हुन्छ। त्यो हामीलाई मतलब भएको कुरा होइन,’ उनले सञ्चालकको भनाइ उद्धृत गर्दै भनिन्, ‘पैसा नभएर के भो र ? काम त भएको छ नि? अरूले त्यही काम पाएका छैनन्। सधैं एउटै कुरा लिएर किचकिच। तिमीहरूले उजुरी हाल्ने भनेकै त्यही विभागमा त हो नि। विभाग हाम्रो हातमा छ। के गर्न सक्छौ? हेरौं। अति त गर्नु भएन नि यार!’

म्यानपावरको असहयोगका कारण न्यायको ढोका खोल्न विभाग धाए पनि हात लाग्यो शून्यजस्तै भएको जानु बताउँछिन्।

म्यानपावर सञ्चालकहरूले जस्तै गाली गर्दै बोल्ने व्यवहार विभागका वरिष्ठ कर्मचारीबाट पनि भएको उनले सुनाइन्। ‘काम हुन्छ आत्तिनुपर्दैन। त्यो म्यानपावर कम्पनीलाई रोक्का गरौंला। पल्लोपट्टि कोठामा जानुस्। तपाईंले न्याय पाउनुहुन्छ’ भन्दै विभागका निर्देशकले सान्त्वना दिए पनि त्यहाँ भेटिएका महिला र पुरुष कर्मचारीले तीन सातादेखि झुलाएको र गाली मात्रै गरेको उनले बताइन्।

‘बढी किन बाठो भाको। तपाईंहरूको मात्रै काम हुन्छ? हाम्रो काम हुँदैन। काम बिस्तारै हुन्छ एकैचोटि कहाँ हुन्छ। म्यानपावर व्यवसायीलाई बोलाइदिएका छौं, आफैं कुरा गर्नुहोस्,’ कर्मचारीको भनाइ उद्धृत गर्दै जानुले भनिन्। म्यापावरवालासँगै विभागका कर्मचारीले पनि ठुलो स्वर गर्ने गरेको जानुले सुनाइन्। विभागका वरिष्ठ कर्मचारीहरूले म्यानपावरवालाको गल्ती नदेखाउने र महिनौं धाउँदा पनि पीडित पक्षले न्याय नपाउने उनले बताइन्।

असोज २९ गते म्यानपावरले तिहारपछि भाइलाई मलेसियाबाट स्वेदेश फर्काउने कागजपत्रमा हस्ताक्षर गरिदिएको उनले बताइन्। ‘उजुरी लिइहाले पनि विभागका कर्मचारीले ठगीमा संलग्न म्यानपावर कम्पनीका सञ्चालक र एजेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्दैनन्। उल्टै पीडितलाई नै बाहिर गएर मिलापत्र गर्नुहोस् भन्छन्,’ एक पीडित राजाराम यादवले भने। ठगी गर्ने म्यानपावर कम्पनीहरूविरुद्ध विभाग कठोरतापूर्वक उभिन नसक्दा पीडित थप मारमा पर्ने र पीडक उम्कने अवस्था आएको छ।

वैदेशिक रोजगारीमा ठग्ने र ठगिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ। युवालाई विदेशको सपना देखाउने, पैसा उठाउन तर विदेश नपठाइदिने, पैसा माग्दा गलाउने, थर्काउने अनि पचाउने ध्याउन्नमा केही म्यानपावर रहेको अर्का पीडित यादवले बताए। २०औं पटकसम्म म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागमा धाउँदा पनि केही पीडितले न्याय पाउन सकेका छैनन्।

दैनिक दुई–तीन सय जना ठगिएको सबुत प्रमाणसहित न्यायको भिख माग्न वैदेशिक रोजगार विभागको ढोका ढक्ढकाउन पुग्छन्। तर त्यो ढोका पीडितहरूका लागि खुला हँुदैन। वैदेशिक रोजगार विभागका कर्मचारीले वैदेशिक रोजगारीमा जान पैसा बुझाएर ठगिएका युवाले बुझाएको लिखतलाई लत्याएर म्यानपावर कम्पनीको बकितमलाई मान्यता दिँदा न्यायको ढोका खुल्न नसकेको पीडितको गुनासो छ।

दैनिक सयौं पीडित न्यायको आसमा वैदेशिक रोजगार विभाग पुग्छन्। विभागका कर्मचारीमा समस्या सुल्झाउनेभन्दा पनि पीडितलाई थप दुःख दिने नियत राख्ने कुराले निकै निराश बनाएको जानु बताउँछिन्।

‘मानवता हराएको छ। लिखत कागजको मान्यता छैन। अपराधी र दलालविरुद्ध सरकार उभिनुपर्‍यो,’ पीडित भन्छन्, ‘ठगी गर्ने म्यानपावर कम्पनी र दलालविरुद्धका उजुरी दर्ता र सुनुवाइमा विलम्ब गरिदिनुभएन।’ शक्ति र पैसाको पछि कुद्ने कर्मचारीलाई पनि कारबाही हुनुपर्ने माग पीडितको छ। ‘न्यायका लागि चलाउनुपर्ने कलम रोकिएका छन्,’ पीडित जानुले भनिन्, ‘विभागका अधिकांश कर्मचारीले आफ्नो दायित्व र धरातल भुलेका छन्।’

पीडितहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई आफ्नो कार्यभार नभुल्न र मर्कामा परेकालाई न्याय दिलाउन सुझाएका छन्। पीडितहरूले वैदेशिक रोजगारीका नाममा ठग्नेविरुद्ध स्थानीय तहमा पनि उजुरी दिन सकिने व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगाउन सरकारले गाउँगाउँमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पीडितको छ। सरकारको कमजोरी, लापरबाही र जनचेतना अभावले वैदेशिक रोजगारीका नाममा ठग्ने र ठगिने क्रम बढ्दै गएको छ। विभागका कर्मचारी पीडितलाई झुलाएर ठगसँग मिलेको प्रमाण भए कानुनी कारबाही गर्ने विभागका निर्देशक कविराज उप्रेतीले बताए। ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई न्याय दिलाउनु हो,’ उनले भने।

वैदेशिक रोजगार विभागमा ठगीका उजुरी बढ्दै गएका छन् भने सुनुवाइ न्यून छ। गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार ५०० उजुरी परेका छन्। साथै गत वर्षमा १४ सय २८ वटा उजुरी म्यानपावरविरुद्ध परेको तथ्यांक छ। हालसम्म १५ सय ६० म्यानपावरविरुद्ध मुद्दा परेकोमा ६ सय ८५ वटा निलम्बित भइसकेका छन्। अहिले ९ सय ६० म्यानपावर कम्पनी सक्रिय छन्।यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।