इनरुवाः इनरुवा ६ नम्बर वडाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी भारतीय महिलाको सम्पूर्ण परिवार सुनसरीको सीमाक्षेत्र नजिक रहेको भारतको बनेलीपट्टी ग्राम पञ्चायतको रामटोलमा बस्दै आएको खुलेको छ ।
भारतीय महिला भागवन्ती मोचीलाई इनरुवा ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाले अबिवाहित महिला बनाएर गत असार महिनामा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।
वडाअध्यक्ष थापाले नागरिकता दिलाएका भारतीय महिला भारतको सुपौल जिल्ला बनेलीपट्टी ग्राम पञ्चायतमा रहेको राम चमार टोलमा स्थायी बसोबास रहेका हुवीलाल रामकी बुहारी राजकुमार रामको श्रीमती रहेको फेला परेको हो ।
बनेलीपट्टी ग्राम पञ्चायतमा निर्वाचित जनप्रतिनिधि रहेका जगदिश रामले हुविलाल रामको बुहारी भागवन्ती मोचीलाई उनका छोरा राजकुमार रामले नेपालको सुनसरी जिल्ला इनरुवाबाट बिवाह गरेर २०६७ सालमा ल्याएको बताएका छन ।
भारतीय जनप्रतिनिधि रामले नेपालीबाट बिवाह गरेर ल्याएकी राजकुमार रामको श्रीमतीको नाम सरिता राम मोची रहेको बताएका छन । उनले सरिता र राजकुमारको एकछोरीको जन्मसमेत बनेलीपट्टीको एक स्वास्थ्य केन्द्र चौकीमा भएको बताए ।
भागवन्ती मोचीका नामबाट नेपाली नागरिकता लिएकी सरिताको भारत सरकारले जारी गरेको रासन कार्ड, आधार कार्ड र छोरीको जन्मदर्तासमेत रहेको बताइन्छ।
भागवन्ती मोची नाम गरेकी ति महिलाको जेठी र माइली दिदीको समेत भारतको सुपौल बनेलीपट्ट्री ग्र्राम पञ्चायतमा बिवाह भएकाले दिदीहरुले नै राजकुमारको बिवाह इनरुवामा गराएको उनका आफन्तले जनाएका छन ।
यसैगरि इनरुवामा बसोबास गर्दै आएका भागवन्ती मोची भन्ने सरिताको बुबा श्रीप्रसाद मोचीका एकासगोलका दाजुभाईहरु सोही गाँउमा बस्दै आएका भारतीय नागरिक रहेको खुलेको छ ।
उनका बाबु श्रीप्र्रसाद मोचीले समेत जन्मसिद्धको आधारमा ०६३०२२÷१५१ नम्बरको नेपाली नागरिकता टोलीबाट २०६५ सालमा लिएका थिए। छोरीको नागरिकताको सनाखतमा श्रीप्रसाद बसेका थिए ।
वडाअध्यक्ष थापाले भारतमा सरिता राम मोचीका नामबाट आधार कार्ड र रासन कार्ड लिएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अबिवाहित भनी सिफारिस गरेर नागरिकता दिलाएका थिए ।
नागकिरता प्रमाणपत्र लिने अनुसूची १ नियम ३ को उपनियम (१) र (३), नियम ४ को उपनियम (१) र नियम १६ को उपनियम (१) सँग सम्बन्धित फारममा वडाअध्यक्ष सुमन थापाले २०८० असार १३ गते सिफारिस गरेका थिए।
अध्यक्ष थापाको सिफारिसका आधारमा भागवन्ती मोचीले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०८० असार १४ गते २०५१ साल जेठ ९ गते जन्म मिति राखी ०६–०१–८०–०३८३१ नम्बर रहेको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थ्रिइन ।
भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत वडाअध्यक्ष थापाले आफै सूचक भएर २०८० असार ५ गतेको मितिमा बाबु राजकुमार मोची आमा भागवन्ती मोचीको गर्भबाट जन्मिएकी निशा मोची नाम गरेकी छोरीको २०६९ असोज २७ गते जन्ममिति राखी जन्मदर्ता गरिएको छ ।
जन्मदर्ता प्रमाणपत्रमा सूचक बसेका वडाअध्यक्ष सुमन थापाको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ५११७÷६११७ उल्लेख गरिएको छ ।
भारतीय महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको प्रकरणमा प्रशासनको आग्रहलाई बेवास्ता गर्दै नगरपालिकाले सुनसरी प्रशासनमा छानबिन गरि रायसहितको प्रतिवेदन अहिलेसम्म पठाएको छैन ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८० असोज ८ गते इनरुवा नगरपालिकालाई छानबिन गरि रायसहितको प्रतिवेदन पठाउन पत्राचार गरेपनि आलटाल गरेर पत्र लुकाएर राखेपछि २०८० असोज २९ गते पत्रमार्फत तथा इमेलमार्फत ३ दिनभित्र जवाफ पठाउन निर्देशन दिएको थियो ।
अघिल्लो पत्र नगरपालिकाले लुकाएका कारण सुनसरी प्रशासनले दोस्रोपटक तीन दिनभित्र लिखित रुपमा छानबिन गरि रायसहितको प्रतिवेदन पठाउन भनी २०८० असोज २९ गते सोमबार २०२३ अक्टोबर १६ तारेखमा चलानी नम्बर ९५७ मार्फत इनरुवा नगरपालिकाको इमेल ICT [email protected] मा ११ बजेर ५२ मिनेटमा इमेल र पत्रसमेत पठाएको थियो ।
सुनसरीको प्रशासनले रायसहितको प्रतिवेदन पठाउन तीन दिनको ताकेता दिएपनि दबावका कारण नगरपालिका प्रशासनका कर्मचारीले प्रतिवेदन नपठाएको स्रोतले जनाएको छ ।