दोहाः  वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका दुर्गाबहादुर सुनारलाई उद्धार गरी नेपाल फर्काइएको छ । उनलाई ६५ हजार साउदी रियाल जरिमाना लागेकोमा आर्थिक अवस्था कमजोर भएको भन्दै सुनार उद्धार अभियानका लागि अपिल गरिएको थियो ।

उनको जरिमाना रकम साउदी रियाल ६५ हजार रहेकोमा महावाणिज्य दूतावास जेद्धाले दोस्रो पक्षसँग जरिमाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५ हजार जरिमाना  तिरे बाँकी साउदी रियाल २० हजार मिनाहा गरिदिने प्रतिबद्धता जनाएको जनाएको थियो ।

सुनार उद्धार अभियानमा विभिन्न माध्यम ९एसटीसी पे, बैंक एकाउन्ट, क्यास ह्यान्डओभर०बाट विभिन्न संघसंस्था एवं संस्थाका पदाधिकारी तथा व्यक्तिगत रूपमा सहयोग गर्ने समाजसेवीमार्फत उनको उद्धारका लागि दोस्रो पक्षलाई बुझाउने क्षतिपूर्ति रकम तथा वकिलको शुल्कसमेत बुझाई महावाणिज्यदूतावासले अन्य कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बहिर्गमन भिसा प्राप्त भई बुधबार नेपाल पठाइएको हो ।

उनलाई उद्धारमा साउदी रियाल ६१ हजार ७८२।४४ सहयोग रकम प्राप्त भएकोमा यो प्रक्रियामा दोस्रो पक्षलाई बुझाउने क्षतिपूर्ति, विगतदेखि संलग्न वकिललाई बुझाउनुपर्ने शुल्क एवं कानुनी प्रक्रियाको समाप्तिपश्चात् नेपाल पठाउन लाग्ने हवाई टिकटसमेत गरी साउदी रियाल ५१ हजार १ सय ७० रकम खर्च भएको महावाणिज्य दूतावासले जनाएको छ ।

उनलाई स्वदेश फर्किने क्रममा ३ हजार ११२ रियाल हस्तान्तरण गरिएको र बाँकी ७ हजार ५ सय रियाल आगामी दिनमा यहाँहरूसँगको सल्लाह तथा समन्वयमा यस्तै प्रकारका अन्य उद्धार तथा सहयोगका लागि प्रयोग गरिने दूतावासले जनाएको छ ।

यसरी महावाणिज्य दूतावासको सेल्टरमा करिब दुई वर्ष राखी सबैको साथ एवं सहयोगमा उनलाई सकुशल स्वदेश पठाउन सफलता प्राप्त भएकोमा दूतावासले खुसी व्यक्त गरेको छ ।

यस्तो थियो घटना

नेपाली नागरिक दुर्गाबहादुर सुनार वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ मा पुगेका थिए । सोही वर्ष सवारी दुर्घटनामा परेका उनलाई ट्राफिक विवरणअनुसार साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै प्राइभेट राइटअन्तर्गत साउदी रियाल ६५ हजारको जरिमाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाएको थियो ।

फैसलापछि महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटकपटक जरिमाना रकम तिरिदिन अनुरोध गरेकोमा रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताएका थिए ।

यस सम्बन्धमा महावाणिज्यदूतावासले पटकपटक साउदी सरकारका विभिन्न निकायमा लेखापढी तथा बैठकमार्फत प्रयास गरे तापनि उनको गल्ती रहेका कारण देखाउँदै जरिमाना मिनाहा हुन नसक्ने जानकारी दिएका थिए ।

महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिमाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५ हजार जरिमाना तिरे बाँकी साउदी रियाल २० हजार मिनाहा गरिदिने प्रतिबद्धता जनाएको थियो ।

सो घटनामा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा दोस्रो पक्षलाई चोटपटक र सवारीसाधनमा क्षति भएको थियो । सुनार विगत डेढ वर्षदेखि महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका थिए ।

उनले चालक अनुमतिपत्र बिनासवारीसाधन चलाएको तथा सो बखत सवारी साधनको इन्स्योरेन्स ९बिमा० पनि नरहेको एवं उनले आफ्नै इच्छाले रोजगारदाताको अनुमतिबिना सवारीसाधन चलाएकाले रोजगारदातालाई कानुनी रूपमा जरिमाना तिर्न हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख भएको थियो ।

यस्तै, साउदी अरेबियालगायत खाडी मुलुकमा नेपाली कूटनीतिक नियोग कमजोर हुँदा हजारौं नेपाली कामदार मर्कामा परेका छन् । त्यहाँस्थित नेपाली दूतावास भए पनि नेपाली कामदारलाई आभास हुनेगरी काम नगरेको कारण दूतावासप्रति नेपालीले हेर्ने दृष्टिकोण फरक रहेको पाइन्छ ।

कतिपय समस्या परेका नेपाली कामदारले सम्पर्क गर्दा फोन नउठाउने तथा दूतावासमै पुगेर समस्या राख्दा पनि सुनुवाइ नहुने गरेको उनीहरू बताउँछन् ।राजधानीबाट