मङ्गलबारेः  इलाम नगरपालिका ६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए । उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिने छ । गुम्बामा धार्मिक पाठशालासमेत रहने छ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका २ का धनबहादुर गुरुङले एक रोपनी जमिन निः शुल्क उपलब्ध गराएका हुन । साथै, उनले नगद तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गर्नुभएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए । 

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीयहरू श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ । 

साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ । तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिने छ । चियाबारी नजिकै भ्यु टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ । रासस