होक्लाबारीः मोरङको लेटाङ ९ का इमनाथ पोख्रेल र भीम आङदेम्बे कसका बारीमा के रोपेको छ भनेर खोजी गर्ने गर्छन् । विशेष गरी गाउँमा धेरै खेती हुने स्थानमा गएर बालीनाली लगाएको समय र बालीको अवस्था खोज्ने उनीहरूको काम रहेको पाइन्छ ।

यसरी बालीनालीको खोजी गर्नुको उनीहरूको लक्ष्य भनेको किसानले उत्पादन गरेका वस्तुको किनबेच भने होइन । उनीहरूको व्यवसाय नै अर्काको बारीमा लगाइएको तेलहन खेती तथा वनस्पतिका फूलहरूबाट आम्दानी गर्नु हो ।  व्यावसायिक मौरी पालनमा लागेका उनीहरू चाप फुल्ने समयमा जङ्गल चहारिरहेका हुन्छन् भने तोरी फुल्ने समयमा किसानका खेतबारी चाहर्छन् ।

२०५६ सालदेखि २०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकको रूपमा जागिर खाएर हाल मौरीपालन व्यवसायमा लागेका पोख्रेललाई लेटाङकै आङदेम्बेले साथ दिएका छन् । अहिले उनीहरूका २ सय ५ घार मौरी रहेका छन् । 

‘जागिर खाँदा भविष्य देखिनँ र व्यवसायमा लागेँ’, उनी भन्छन्, ‘सँगै जागिर खाएका साथीहरू अहिले पनि स्थायी हुनुभएको रहेनछ । म नायब सुब्बा सरहको तलब खान्थेँ । अहिले सचिवसरहको कमाइ मेरो छ ।’
वार्षिक १२ देखि १३ लाख कमाइ हुने गरेको उनी बताउँछन् । सामुहिक मौरीपालन गर्दै आएका पोख्रेल र आङदेम्बे भन्छन्, ‘खर्च कटाएर प्रति किलो ४ सय रुपैयाँ आम्दानी हुने गरेको छ ।’ गत वर्ष ३० क्वीन्टल मह उत्पादन भएको आङदेम्बेले बताए । २ प्रजातिका मौरी पालेका उनीहरूले मौरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन् ।

होक्लाबारी, कसेनी बाहुनीलगायतका तोरी खेती हुने क्षेत्रमा मौरी चराउन लाने गरेको उनीहरू बताउँछन् । उदयपुरमा समेत मौरी लाने गरेको पोख्रेलले बताए । ‘तोरी फुल्ने सिजनमा मह धेरै उत्पादन हुन्छ’, पोख्रेलले भने, ‘तोरीको फूलको मह ६ सय ५० रुपैयाँ र चाप तथा अन्य फूलको मह ७ सय ५० रुपैयाँमा बेच्ने गरेको छौँ ।’ ३ हप्तामा एक पटक मह काढ्ने गरेको उनले बताए ।

मौरीपालनमा खट्न सक्दा राम्रो आम्दानी हुने गरेको आङदेम्बेले बताए । उनका अनुसार अहिले ४ जना त कामदारले रोजगारी पनि पाएका छन् । अझै पनि दक्ष जनशक्ति नपाएको उनले बताए । तोरीको फूलको रसबाट बनेको महको धेरै माग हुने गरेको आङदेम्बेले बताए । आफूहरूले उत्पादन गरेको मह झापा, मोरङ, सुनसरीमा धेरै खपत हुने गरेको पोख्रेल बताउँछन् । उनका अनुसार पाँचथर र इलाममा पनि मह जाने गरेको छ ।

मनकामना मौरीपालन स्रोत केन्द्र तथा थुम्सेन मौरीपालन केन्द्र नाम दिएर उनीहरू व्यावसायिक मौरीपालनमा लागेका छन् । मनकामना मौरीपालन स्रोत केन्द्र लेटाङमा रहेको छ भने थुम्सेन पाँचथरमा रहेको छ । मौरी पालक महासङ्घको २ कार्यकाल केन्द्रीय सदस्य भएका पोख्रेल प्रदेश नम्बर १ का ‘ट्रेनर’ पनि हुन् ।