इटहरीः   झापको अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक भएको सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  

शनिवार दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक (छोटा हात्ती)सँग विपरित दिशाबाट जाँदैगरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।

दुर्घटनामा परी स्कुटरचालक अर्जुनधारा –२ गाजाबारीका ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार गाजाबारीकै ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल लग्दा उपचारका क्रममा दिउँसो २ ४० बजे मृत्युभएको प्रहरी निरीक्षक न्यौपानेले बताए।

छोटा हात्ती गाडीचालक अर्जुनधारा २ कै २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।