इटहरीः गत शनिबारदेखि यो शनिबारसम्म प्रदेश १ मा थुप्रै व्यक्तिहरू समाचारका पात्रहरू बने । राजनीति, चिकित्साक्षेत्र, पर्यटन, मोडलिङदेखि विभिन्न क्षेत्रका व्यक्तिहरू यो साताको समाचार शीर्षक बने । यसरी साताभर समाचार शीर्षक बनेका प्रदेश १ का थुप्रै व्यक्तित्वहरूबाट हामीले शीर्ष ७ व्यक्तिहरू छनोट गरेका छौँः

१. पूजा श्रेष्ठ, मिस पूर्वाञ्चल २०७५
गत शनिबार राती मिस पूर्वाञ्चल २०७५ को घोषणा भएको थियो । यस वर्षको मिस पूर्वाञ्चलको ताज पहिरिइन् झापाकी सहभागी पूजा श्रेष्ठले । झापा भद्रपुरकी २२ वर्षीया युवती श्रेष्ठले प्रदेश १ को प्रतिष्ठित मानिने मिस पूर्वाञ्चलको नवौँ संस्करणको ताज लाउन सफल भएकी छिन् । ताजसँगै उनले यमाहा स्कुटर तथा हङकङ भ्रमणको प्याकेज पनि पाएकी छिन् । हाल उनलाई विभिन्न कार्यक्रमहरूमा जान भ्याइनभ्याइ छ । श्रेष्ठसँगै फस्ट रनरअप र सेकेन्ड रनरअप भएका क्रमशः धनकुटाकी अलिना क्षेत्री र इटहरीकी तपस्या रणपहेली पनि हाल व्यस्त नै छन् ।

२. गोविन्द केसी, चिकित्सक
गत मङ्गलबार इलाम आए डाक्टर गोविन्द केसी । आफू र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो १६ औँ अनसन बस्न केसी इलाम आएका थिए । इलाम आएका केसीले २० गते हुने इलामको लगानी सम्मेलन र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दन गरेकै दिन अनसन बस्ने बताएका थिए । तर, एकाएक १८ गते साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै केसीले २५ पुससम्मको लागि अनसन स्थगन गरेका थिए ।

३. सानुमाया लिम्बू, ज्येष्ठ नागरिक, धनकुटा
यस साता प्रदेश पोर्टल र अन्य अखबारहरूमा प्रदेश १ मा समाचार शीर्षक बनिन् सानुमाया लिम्बू । ७५ वर्षीया लिम्बूले यही पुस १६ गतेबाट शुरु भएको ३ दिने भेडेटार फुड फेस्टिबलको पहिलो दिन हेलिकोप्टर उडान भरिन् । जीवनमा आकाशमा उडेको मात्रै हेलिकोप्टर देखेकी लिम्बू १६ गते आफैँ उडिन् । आफूले आफ्नै गाउँमा हेलिकोप्टरमा उड्ने कहिल्यै नसोचेकी तर ४ हजार ९ सय रुपैयाँ तिरेर गाउँमै उड्न पाएको लिम्बूले बताएकी थिइन् ।

४. राष्ट्रपति, विद्यादेवी भण्डारी
प्रदेश १ मा यो साताको बुधबार र बिहीबार चर्चामा रहिन् राष्ट्रपति विद्यादेवी भण्डारी । प्रदेश १ आएर झापाको शिवसताक्षी नगरपालिका– ७ को चन्द्रडाँगी कृषि विकास फारमदेखि इटहरीको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको अवलोकन गरिन् राष्ट्रपति भण्डारीले । झापाको कृषि फारमको हवाइ अवलोकन गरेकी भण्डारीको आलोचना भएको थियो । जनताबाट चुनिएर राष्ट्रपति बने पनि पहिलेका राजाले जस्तै विलासी तरिकाले हवाइ अवलोकन गरेको भन्दै राष्ट्रपतिको आलोचना भएको भयो ।

५. प्रधानमन्त्री, केपी शर्मा ओली
२० गते शुक्रबार लगानी सम्मेलनको अवसरमा इलाममा नागरिक अभिनन्दन ग्रहण गर्न र भेडेटार–राँके सडक खण्डको पिच बनाउने कार्यको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ मा आएका थिए । प्रदेश १ मा आउँदा इलाममा भएको अभिनन्दनसँगै डाक्टर केसीको अनसनको कुराले पनि प्रधानमन्त्री ओली चर्चामा रहे । तर, केसीले २० गते गर्ने भनेको अनसन २५ गते सम्मलाई स्थगन गरेपछि भने प्रधानमन्त्रीको अभिनन्दन र केसीको अनसन जुध्ने सम्भावना टर्याे ।

६. महेश बस्नेत, मेयर, इलाम नगरपालिका
नेपालमै पहिलोपटक स्थानीय तहको तर्पmबाट लगानी सम्मेलन गरेर इलाम नगरपालिका चर्चामा रह्यो । यही २० गते शुक्रबार भएको लगानी सम्मेलनको चर्चासँगै चर्चामा छन् इलामका मेयर महेश बस्नेत । स्वदेशी लगानीकर्ताहरू आफ्नो गृहनगरमा ल्याएर लगानीको वातावरण बनाउन सक्रिय भएका मेयर बस्नेतले विभिन्न छुटहरू दिएर लगानीकर्ताहरूलाई हौसला दिने नीति नै ल्याएका छन् ।

७. भीम पराजुली, मेयर, विराटनगर महानगरपालिका
प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाका मेयर यो हप्ता दिल्लीमा थिए । दिल्लीमा उनी कुनै व्यक्तिगत काममा नभएर एक कार्यक्रममा प्रमुख अतिथि भएर पुगेका थिए । अपाङ्गता भएका र नभएका दुवैलाइ सँगै राखेर अध्ययन गराउने दिल्लीको प्रतिष्ठित अमरज्योति स्कुलको कार्यक्रममा मङ्गलबार मेयर दिल्लीमा थिए ।
भारतको चर्चित अवार्ड पद्मश्री पाउने उमा तुल्ली अध्यक्ष भएको विद्यालयमा महानगरका मेयर पराजुली प्रमुख अतिथि भएर पुगेका थिए । चर्चित बलिउड नायक तथा निर्माता आमिर खानको चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मा पनि यो विद्यालयलाई कुनै बेला प्रस्तुत गरिएको थियो । यो विद्यालयका धेरै विद्यार्थीहरूले ओलम्पिकका पदकहरू पनि पाएको मिडियाहरूले बताएका छन् ।