इलामः आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ ।

संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । २ वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करीब रु २० लाख सङ्कलन भइसकेको संस्थाका अध्यक्ष रतनकुमार चौधरीले बताए ।

रक्तदाताका अगुवा भनेर समेत चिनिने चौधरीले विपन्न बिरामीलाई लक्षित गरी संस्था स्थापना गरेको बताए । उक्त संस्थामा अध्यक्ष चौधरीले आफ्ना आमाबुबाको सम्झनामा ६ लाख रुपैयाँ सहयोग गरेका छन् । समाजसेवीको अगुवाइमा स्थापना भएको सो संस्थाबाट ६० विपन्न बिरामीलाई उपचार सहयोग गरिएको छ ।

बिरामीको अवस्था हेरी उक्त संस्थाले २ हजारदेखि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको बताइएको छ ।