प्रकाश नेपाल

इटहरीः इटहरी पूर्वी नेपालको ट्रान्जिट हब हो । कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित यो शहर तिब्र विकास हुदैछ । नगरपालिकाबाट उप महानगरपालिकामा परिणत भएपछि शहरीकरण बढ्दो छ । झापा, मोरङ र पूर्वी पहाडी जिल्लाहरुबाट राजधानी काठमाण्डौसम्म जान इटहरी भएरै जानुपर्छ । त्यसकारण इटहरी आउँदा घुम्न जाने ठाउँ कता हो त ? भन्ने जिज्ञासा तपाइहरुको मनमा हुनसक्छ  । इटहरीका पर्यटकीय ठाउँहरु मध्येको एक तालतलैया तपाईहरुको पर्यटकीय गन्तव्य बन्नसक्छ ।

तालतलैया इटहरीको मुख्य चौकबाट ७ किलोमिटर उत्तरमा पर्दछ । इटहरी मुख्य चौकदेखि पूर्व ट्याङ्ग्रा खोला नजिकैबाट उत्तर लागेपछि यहाँसम्म पुग्न सकिन्छ । कोशी राजमार्ग स्थित तरहराबाट ३ किलोमिटर पूर्व लाग्दा पनि तालतलैया पुगिन्छ । 

taltalalaiya12021-02-20-08-02-30

यो हो तालतलैयाको मुख्य गेट । गेटभन्दा बाहिर खाने र बस्नका लागि होटलहरुको राम्रो व्यवस्था छ । पानीपुरी, चटपटे र आइसक्रिम बेच्ने ठेला ब्यापारी प्रसस्तै छन् । विभिन्न परिकारहरुको स्वाद लिँदै टन्न भएर तालतलैया सिमसार घुम्दा झन् राम्रो । गेटबाट भित्र प्रवेश गरेपछि टिकट काट्नुपर्छ । प्रतिव्यक्ति ३० रुपैयाको टिकट लिएर सिमसार क्षेत्र घुम्न सकिन्छ । तर भित्रपट्टी रहेको चिल्ड्रेन पार्कमा भने फेरी ५० रुपियाको अर्को टिकट काटेर बच्चाबच्चीलाई खेलाउन सकिन्छ ।

करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको यस सिमसारमा ७ वटा ताल रहेका छन् । ती मध्ये सबैभन्दा ठुला २ वटा तालमा बोटिङ गर्ने समेत व्यवस्था गरिएको छ । सररर मोटरबोटमा चढेर ताल वरिपरी घुम्दा शहरको भागदौड सबै बिर्सने र बिदाको समयमा १ दिन भएपनि प्रकृतिको नजिक आउँदा स्वास्थ्यलाई समेत फाइदा हुन्छ । यसकारण दैनिक सयौको संख्यामा मानिसहरु यहाँ आउने गर्दछन । नेपालका घुम्नैपर्ने सयवटा ठाउँहरु मध्ये तालतलैया पनि एक हो । यस क्षेत्रलाई कोशी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिदैछ । र विभिन्न पर्यटन पूर्वाधारहरु निर्माण गर्ने कार्य भइरहेको छ । 

taltalaiya2

पार्क क्षेत्रभित्र सुन्दर र घना जंगल भएका कारण गर्मी महिनामा घुम्न आउँदा प्राकृतिक शिलताको अनुभूति गर्न सकिन्छ । भने जंगल र पार्क वरिपरी गुञ्जिने चराचुरुंगीको आवाजले मनलाई आनन्दित बनाउँछ । यहाँको विशेषता भनेको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुले बनाएका ढुंगाका विभिन्न आकृतिहरु हुन् । मुर्तिकारहरुले ढुंगालाई कुदेर मानिसको मुटु, आमाको प्रतिमा, माछा तथा अन्य कलात्मक आकृतिहरु निर्माण गरेका छन् । यसले गर्दा तालतलैयाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । यस्ता २८ किसिमका आकृतिहरु निर्माण गर्न करिब एक महिनाको समय लागेको थियो । 

पार्कको उत्तरपट्टि पिकनिक स्पोट पनि रहेको छ । नेपालका विभिन्न जिल्लाहरुबाट पिकनिक खाँदै जंगलको विचमा प्राकृतिक आनन्द लिन मानिसहरु आउने गर्दछन् । पछिल्लो समय विभिन्न संघ संस्थाहरुले आफ्नो बार्षिक कार्यक्रम साधारण सभा, गोष्ठी, भेला जस्ता कार्यक्रमहरु समेत यहि आएर गर्ने गर्दछन् । वारिवारीक वातावरण भएको तालतलैयामा तपाइहरुले निश्चिन्त भएर सम्पूर्ण परिवार सहित घुम्न सक्नुहुन्छ । बालबालिकाका लागि बनाइएको चिल्ड्रेन पार्क पनि उत्तिकै राम्रो छ । सुरुली खेल्ने, पिङ खेल्ने, झुलन झुलाई, हवाइजहाजमा बस्ने र खेल्ने जस्ता सुविधाले चिल्ड्रेन पार्कको सौन्दर्यलाई अझ निखार्छ । कार्टुनका विभिन्न आकृतिले गर्दा बालबालिकालाई खेलाउँदा समय बितेको पत्तै हुदैन । 

taltalaiya5

कंगारु, गोही, बाघ, गैडा, जिराफ, किङकङ जस्ता अनेकन प्रतिमा सहितको तालतलैया सिमसार भित्रको यो चिल्ड्रेन पार्क सुन्दर देखिन्छ । पार्कमा बालबालिकालाई खेलाउदै अभिभावकहरुले पनि मजा लिन सक्छन । तालतलैया वरिवरी शयर गर्न घोडचढीको व्यवस्था गरिएको छ । भने पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न ठाउँमा खानेपानी, ट्वाइलेट, फोहोर फ्याक्ने डस्टबिनको समेतको व्यवस्था छ । पैदल घुमफिर गर्न चाहाने पर्यटकहरुका लागि जंगल भित्र गोरेटो बाटो पनि खोलिएको छ । भने समय समयमा बाटोको छेउमा उम्रिने झारपातले गर्दा बाटो बन्द हुने समस्यालाई समेत तुरुन्त सरसफाइ गर्ने गरिन्छ । पार्कमा जम्मा हुने विभिन्न फोहोरहरुलाई दैनिक रुपमा व्यवस्थापन गर्न सफाई कर्मचारीहरु समेत खटाइएको छ । 

सम्पूर्ण तालतलैया भित्रको व्यवस्थापनका लागि वि.स. २०६६ सालमा आधिकारीक रुपमा तालतलैया विकास तथा संरक्षण समिति गठन गरेर पर्यटकीय क्षेत्र विस्तारको काम शुरु भएको थियो । हालसम्म आउँदा यस क्षेत्रको विकासले छलाङ मारेको छ । सुविधा सम्पन्न कार्यालय र टिकट काउण्टर, प्रवेश गेट साथै गेट बाहिर होटल तथा लजको विस्तार, कालोपत्रे सडक जस्ता कुराहरुले पर्यटकहरुलाई प्रेरक सन्देश दिन्छ । हाल तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनाल छन । 

सिमसार क्षेत्रको उत्तरपट्टी रहेको पिकनिक स्पोट छेउमै चिटिक्क परेको चिडियाखाना समेत रहेको छ । यहाँ हरिण लगायत अन्य जंगली जनावारहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । 

गेटबाट भित्र प्रवेश गरेपछि पूर्वपट्टी रहेको तालको डिलमा बसेर आनन्द लिन सकिन्छ । त्यसपछि पश्चिम तर्फ रहेको चिल्ड्रेन पार्कमा घुमिसकेपछि उत्तरपट्टी रहेको रहेको ट्री हाउसमा चढेर सम्पूर्ण तालतलैया क्षेत्र र वरिपरी रहेको गाउँलाई नियाल्दा साच्चै नै भित्रैदेखि आनन्द लाग्छ । केही समय अगाडी मात्र सञ्चालनमा आएको ट्री हाउस यहाँ आउने पर्यटकहरुको प्रमुख रोजाइ हो । 

taltalaiya6

गर्मी महिना र बर्षातको समयमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर पार्कको वरिवरी स–साना क्याबिन जस्ता टहराहरु बनाइएको छ । घुम्न आउने प्रत्येक ग्रुपले एउटा एउटा टहरामा बस्दा गोपनियता पनि हुने र भलाकुसारी गर्न सहज हुने हुनाले यो अवधारणा ल्याउने तालतलैया समितिलाई धन्यवाद नदिई हामीलाई चित्तै बुझेन । 

जैविक विविधताले भरिपूर्ण तालतलैया सिमसार क्षेत्रमा मनोरञ्जनका हिसाबले त पर्यटक आउँछन् नै साथै खोज तथा अनुसन्धानका लागि समेत आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् ।

युट्यूब र अन्य सामाजिक सञ्जालहरुमा भ्लग बनाउने र म्युजिक भिडियो साथै फिल्म खिचेर प्रसारण गर्ने गरिएकाले एक पटक घुम्नैपर्ने सन्देश मानिसहरुलाई स्वत जाने गर्दछ । पछिल्लो समय भारतको बिहार र अन्य ठाउँबाट समेत पर्यटकहरु गर्ने गरेका छन् ।