भोजपुर: भोजपुरको पौवादुम्मा गाउँपालिकामा भएको घुम्ती शिविरमार्फत् ८ सय जनाभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा भएको शिविरमार्फत् ८ सय ३२ जनाले विभिन्न कार्यालयको सेवा एकसाथ लिएको बताइएको छ ।

शिविरमा १ सय २७ जनालाई नागरिकता वितरण, १ सय ७९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको बताइएको छ । त्यस्तै, आयुर्वेदअन्तर्गत ३४ जनालाई योग र ३७ जनालाई जडीबुटीसम्बन्धी तालीम, १ सय २७ जनाको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योगमार्फत तीन वटा उद्योग र ११ व्यवसाय दर्ता भएको बताइएको छ ।

त्यस्तै कृषि ज्ञान केन्द्रबाट ३१ जनाको बाली उपचार तथा निःशुल्क जैविक विषादी वितरण र ६० जनालाई प्राविधिक परामर्श दिइएको बताइएको छ । ८ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश र २ सय १५ जनालाई रुद्राक्षको बिरुवा वितरण गरिएको सहायक प्रमुख लिल्ला अधिकारी प्रयास भट्टराईले बताए ।

गाउँमै सेवा पाएपछि स्थानीय पनि खुशी भएका छन् । शिविर पौवादुङमा गाउँपालिका–४ बास्तिम वडा नं ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको सहयोगमा सञ्चालन गरिएको थियो ।