लेटाङः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शान्ति सुरक्षा दिन नसकेको बताएका छन् ।

मोरङको उत्तरी क्षेत्र लेटाङमा नेपाल राष्ट्रिय मगर सङ्घको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले सरकार इतिहासकै कमजोर भएको आरोप लगाए ।

उनले निर्मला पन्तको हत्या प्रकरणालाई जोड्दै विभिन्न घटनाक्रमले सरकारलाई कमजोर साबित गरिदिएको तर्क गरे ।
उनले नेपालमा बालबालिका र महिला सुरक्षित हुन्छन् भन्ने विश्वासिलो आधार नभएको बताए ।

देउवाले सरकार आफँै उद्योग कलकारखाना चलाउन लगि परेकोसमेत बताए । नेपाली काङ्ग्रेस खुला अर्थतन्त्रको पक्षमा भएको भन्दै कम्युनिष्ट सरकार व्यापार गर्न लागि परेको उनको तर्क थियो । अर्थतन्त्रलाई मुठ्ठीमा लिने प्रयास भएको भन्दै खुला बजारको विश्वव्यापी सिद्धान्तलाई आत्मसात गर्न कम्युनिष्ट सरकारले कन्जुस्याइँ गरेको आरोप पनि उनले लगाए ।

आजदेखि शुरु भएको प्रशिक्षण भोलिसम्म चल्ने सङ्घका प्रदेश अध्यक्ष ओमप्रकाश थापामगरले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सह महामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य क्रमशः डा मीनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, गुणराज घिमिरे डा शेखर कोइराला, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतको उपस्थिति थियो ।