इटहरीः शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने मूल मर्म बोकेको अन्तर्राष्ट्रिय तहको संस्था जेसीज अन्तर्गतको इटहरी लेडी जेसीजमा आज नयाँ नेतृत्व चयन भएको छ ।

पटकपटक विधानविपरीत नेतृत्व चयन गर्दै आए पनि सञ्चारमाध्यमको बारम्बारको निगरानीपछि यसपटक भने विधान अनुसार नयाँ नेतृत्व सर्वसम्मत चयन भएको  हो ।

आज सीता रसाइलीलाई सन् २०१९ का लागि नयाँ अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । सोही निर्वाचनबाट इटहरी लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा दुर्गा खड्का र निशा दाहाल चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा इन्दिरा काफ्ले, लक्ष्मी बराल, दुर्गा बराल र सुमित्रा भट्टराई सर्वसम्मत चयन भएका छन् ।

यसपटकको निर्वाचनमा पनि जेसीजको अन्तर्राष्ट्रिय तहको विधानविपरीत ४९ वर्षीया दुर्गा दाहाललाई सन् २०१९ का लागि अध्यक्ष बनाउने तयारी गरिएको थियो ।

जेसीजको अन्तर्राष्ट्रिय कानुन (विधान) मा नै ४० वर्षसम्मकालाई मात्र अध्यक्षमा चयन गर्नुपर्ने उल्लेख गरिएको छ । तर लेडी जेसीजलाई विवादमा ल्याइरहने केही पूर्व पदाधिकारीको एकलौटी बालहठका कारण उमेर हदलाई रद्दीको टोकरीमा मिल्काइने गरिएको थियो ।

जेसीजको नेतृत्व लिनका लागि उम्मेद्वारी दर्ता गर्ने दिन इटहरीबाट प्रकाशित हुने पूर्बी बजार राष्ट्रिय दैनिकले प्रमाणसहित समाचार प्रकाशन गरेको थियो । ४९ वर्षीया दुर्गा दाहाललाई विधानविपरीत सन् २०१९ का लागि इटहरी लेडी जेसीजको अध्यक्ष बनाउन लागेको खबर प्रकाशित भएपछि विधानको पूर्ण पालना भएको हो ।

सन् २०१८ की अध्यक्ष मीनु न्यौपाने पनि विधान विपरीत अध्यक्ष भएको समाचार सोही दैनिकले प्रकाशित गरेको थियो । सो बेला तत्काल राजीनामा दिने बताए पनि न्यौपाने अटेर गरेर अध्यक्ष पदमै बसेकी थिइन् ।

कहिले सुन्दरी प्रतियोगिताको विवादका कारण त कहिले उमेर हद लगायतका विषयमा विवादमा आइरहने इटहरी लेडी जेसीजका सदस्यलाई जेसीजका राष्ट्रिय अध्यक्षले केही समयअघि सम्झाएका थिए ।

हाल इटहरीकै महेश पौडेल सन् २०१९ का लागि जेसीजको राष्ट्रिय अध्यक्ष भएका छन् । पौडेलले अबदेखि विधानअनुसार अधिवेशन गर्नुहोस् भनी सम्झाएको बताइएको छ । तर, इटहरी लेडी जेसीजलाई ठूलो योगदान गरी इटहरीको सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै यसपटक पनि उमेर हदलाई नमान्ने निर्णय निर्वाचन प्रक्रियामा जानुअघि भएको बैठकमा गरिएको थियो ।

बैठकमा सहभागी कतिपयले यसखालको निर्णय नगर्न र लेडी जेसीजलाई विवादमा नल्याउन आग्रह गरेका थिए । तर, बालहठमा रमाउने लेडी जेसीजका केही व्यक्तिले भने पेलेरै अघि बढ्ने निर्णय गरेको बताइएको छ ।