सौराहाः  चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए ।

मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गरे । 

“निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत पर्यटकीय नगरी सौराहा नजिकै पर्ने चप्परचुली पोस्टबाट करिब साढे तीन किलोमिटरको फरकमा दुई वटा गैँडा मरेको अवस्थामा भेटिए,” सूचना अधिकारी तिवारीले भने । उनले भनेको घुमाउरो बाटोको दुरी हो । सुरक्षा पोस्टबाट घटनास्थल करिब एक किलोमिटरको दुरीमा पर्ने पथप्रदर्शकहरू बताउँछन् । यस ठाउँमा सितिमिति सुरक्षा पहुँच नरहेको उनीहरूको दाबी छ ।

मारिएका दुवै पोथी गैँडा हुन् । १० दिनअघि मारिएको अनुमान गरिएको १८ वर्षको र अर्को छ वर्ष रहेको निकुञ्जले जनाएको छ । दुवै गैँडा राप्तीपारि खाल्डो खनेर धरापमा पारी मारिएका थिए । निकुञ्ज प्रशासनले भने बिहीबार साँझ मात्र यसको सूचना पाएको थियो । तस्कारले एक सय मिटरको फरकमा दुई वटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । 

वन्यजन्तुकै कारण बढेको चितवनको पर्यटकीय गतिविधिमा फेरि यस घटनाले नराम्रो असर पार्ने सम्भावना देखिन्छ । पेसाले मेडिकल डाक्टर अस्ट्रियन नागरिक एल क्जोपाकले सङ्कटासन्न वन्यजन्तु गैँडा मारिएको सुन्दा आफू ज्यादै दुःखी भएको बताए। 

“मलाई बाघ हेर्ने ठुलो चाहना हो । यहाँ आएपछि गैँडासमेत देख्न पाए हुन्थ्यो भन्ने लागेको थियो,” शुक्रबार निकुञ्जमा जिप सफारी गरेका  चिकित्सक क्जोपाकले थपे, “संयोगले दुवै वन्यजन्तु देख्न पाउँदा हर्षित छु । यस्ता वन्यजन्तु मारिएको सुन्दा दुःख लाग्दो रहेछ ।” उनले महत्वपूर्ण वन्यजन्तुको सुरक्षामा विषेष ध्यान दिन पनि सुझाव दिए । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछानले निकुञ्जको कमजोर सुरक्षा व्यवस्थाको मौका छोपेर चोरी सिकारीले गैँडा मार्न सफल भएको बताए। 

“चाडवाडका बेला सुरक्षा कमजोरीको फाइदा उठाउँदै पेसेबर र अनुभवी सिकारीले गैँडा मारेको अनुमान गर्न सकिन्छ,” डा. लामिछानेले भने। विगतमा पनि निकुञ्जभित्र गैँडा मार्नकै लागि यस्ता खाडल खन्ने गरिएको र निकुञ्जले बेलाबेलामा पुर्ने गरेको अनुभव उनले सुनाए। 

नेपाल प्रकृति संरक्षण कोष सौराहाका पूर्वप्रमुखसमेत रहनुभएका डा. लामिछानेले गैँडाको संरक्षणका लागि विशेष सुरक्षा रणनीति अवलम्बन गर्न पनि आग्रह गरे । 

चितवन राष्ट्रिय निकुञ्जका संस्थापकमध्येका एक पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले दसैँतिहार जस्तो चाडपर्वका बेला चोरी सिकारी बढी सक्रिय हुन्छन् भन्ने कुरा निकुञ्जले नबुझ्दा गैँडा मारिएको टिप्पणी गरे। “दसैँतिहार जस्तो चाडवाडमा सुरक्षा कमजोरी हुने र त्यही मौकामा चोरी सिकारी हुन्छ भन्ने कुरा बुझ्नुपथ्र्यो,” उनले भने । निकुञ्ज सुरक्षा गर्दै आएको नेपाली सेनाको खड्ग दलका गणपति कर्णेल विकास अधिकारी सुरक्षा गस्ती कमजोरीका कारण गैँडा मारिएको भन्ने तर्क गलत भएको दाबी गरे । 

“हामीले गस्ती निरन्तर जारी राखेका छौँ तर हाम्रो सुरक्षा प्रणालीलाई छक्याएर तस्करहरू गैँडा मार्न सफल भए,” उनले भने । घटनाको प्रकृति हेर्दा आफूहरूलाई पेसेवर तस्करहरू नै यो घटनामा लागेका अनुमान रहेको पनि उनले जनाए । उनले निकुञ्जमा अहिले ढड्डी बढेर झाडी भएकाले गस्ती गर्दा नजिकैका जनावर देख्नसमेत गाह्रो परेको पनि गुनासो गरे । 

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गैँडा मारिनु दुःखद भएको बताउछन । “गैँडा हेर्नकै लागि देश विदेशबाटै पर्यटक चितवन आउँछन् । पर्यटक आउने सिजनमै गैँडा मारिनुले यसको संरक्षणमा गलत सन्देश दियो,” उनले बताए । 

अहिले चितवनमा दैनिक स्वदेशी तथा विदेशी गरी १० हजार पर्यटक रमाइरहेका बेला आएको शोक सन्देशले उत्साह जाग्दै गरेको पर्यटन क्षेत्रमा फेरि धक्का लाग्ने सम्भावना रहेको उनले बताए। 

“भरतपुरमा पर्यटन वर्ष मनाउने तयारी भइरहेका बेला आएको शोक सन्देशले अब भ्रमण वर्ष मनाउन चितवनका सबै क्षेत्रका व्यवसायीबिच सहकार्य गर्नु पर्छ भन्ने सन्देश पनि दिएको छ,” उनले भने। 

यसअघि गत वर्ष माघ ६ गते नवलपुरको मध्यविन्दु–२, अमलटारी भुताहा पोस्ट नजिक तस्कारले आमा बच्चा गरी दुई गैँडा मारेका थिए । चालु आर्थिक वर्ष २०८०र८१ को चार महिनामा यो घटनासहित आठ वटा गैँडा मेरको निकुञ्जमा तथ्याङ्क छ । यसरी मरेकामध्ये तीन वटा चोरी सिकारीले मारेका हुन् । यसअघि अस्थिपन्जर अवस्थामा भेटिएको गैँडा चोरी सिकारीले मारेको अनुमान निकुञ्जले गरेको थियो । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८र५९ मा मरेका हुन् । यो बेला मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेका निकुञ्जसँग तथ्याङ्क छ । सन् २०२१ को गणना अनुसार देशैभर भेटिएका ७५२ वटा गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा फेला परेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।