काठमाडौंः मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ)  तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियन इमिग्रेसनमा आफै उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर नेपाल फर्किनुपर्ने छ ।

मलेसियामा कम्पनी छाडेर अन्यत्र कम्पनीमा गैरकानुनी रूपमा काम गर्ने क्रम बढेपछि दूतावासले कम्पनी छाडेर नभाग्न अनुरोध गरेको छ । मलेसियाको कानुनअनुसार एउटा कम्पनीका लागि नेपालबाट श्रम स्वीकृति लिएर गएको कामदारले भागेर अर्को कम्पनीमा गए त्यस्ता कामदारको भिषा नलाग्ने नियम रहेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढाथापाले बताए ।

पछिल्लो समय मलेसिया गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको भन्दै सचिव बुढथापाले गैरकानुनी रूपमा नबस्न अपिल गरेका छन् । दूतावासको तथ्यांकअनुसार कोभिड–१९ पश्चात् अहिलेसम्म मलेसिया आएका नयाँ नेपाली कामदारको संख्या १ लाख ७५ हजारको हाराहारीमा रहेको छ ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष ९सोक्सो०ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ ।

‘हामी जुन देशमा छौं, त्यो देशको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्छ,’ सचिव बुढथापाले भने ।

साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।

मलेसियामा दलाल सक्रिय रहेकाले नेपालदेखि व्यक्तिगत प्रयोजनबाहेक भिजिट भिजामा नआउन र यहाँबाट अन्य कुनै पनि तेस्रो मुलुक जान सक्ने अवस्था नरहेकाले कुनै पनि दलालले मलेसियाबाट युरोप, अमेरिकालगायतका देशमा पठाइदिन्छु भन्दै भ्रम फैलाउने काम गरिरहेकाले सचेत हुन पनि उनले अनुरोध गरेका छन् । हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । यो खबर आजको राजधानी दैनिकमा  प्रकाशित भएको छ ।