रुषा थापा

बाटोमा विद्यालय हिडिंरहेका विद्यार्थी तथा बालबालिकामा निराशा छाएको छ । कतिपय त बीचमै पढाइ छोडेर गाउँ फर्किनुपर्ने अवस्था आएको भन्दै कुराकानी गरिरहेको पनि सुनिन्छ । आमाबुबा बेरोजगार भएपछि कोठा भाडा वा विद्यालय फिस तिर्न नसकेर बीचमै पढाइ छोडेर अभिभावकसँगै गाउँघर फर्किन लागेको उनीहरु बताइरहेका हुन्छन् । 

अहिले निजी विद्यालयका विद्यार्थी होस् या सरकारी विद्यालयका । उनीहरुले निराश हुदैँ यस्ता कुराकानी गरिरहेको भेटिन्छ । यहाँ बसाई छोडेर गाउँ फर्किएपछि त्यहाँ भर्ना लिइदैँन । जसले गर्दा ती बालबालिकाको पढाइ एक वर्ष बिग्रिन पुग्छ । फेरि एक वर्षपछि पनि पढ्न पाइन्छ कि पाइदैंन ? 

अर्कोतिर, यहाँ बनाएका साथीभाइ र गुणस्तरीय शिक्षा, सेवासुविधा छोड्नुपर्दा उनीहरुमा मानसिक समस्या समेत देखिन्छ । आज ती बालबालिकाको भविष्य अन्यौल हुन पुगेको छ । बाआमासँग रोजगारी नहुँदा, व्यापारव्यवसाय ठप्प हुँदा त्यसको मार बालबालिकाले भोग्नुपरेको छ । 

बालबालिका कहिल्यै झुठ्ठो बोल्दैंनन् । बरु ठूल्ला मान्छेहरु ढाँट्छन् । मुलुकमा आर्थिक मन्दी छ । बेरोजगारी, महँगी र गरिबी दिनप्रति दिन बढ्दो छ । मानिसहरुले कोठा भाडा, सटर भाडा वर्षोदेखि तिर्न सकेका छैनन् । कुनै अभिभावकले पनि आफ्नो बालबालिकाको भविष्य अन्धकार होस् भनेर चाहँदैंन । 

सबैलाई आफ्नो बालबालिकालाई राम्रो, गुणस्तरीय शिक्षा, सेवासुविधा दिन मन लाग्छ । तर, काठमाडौं उपत्यकामा त पानी समेत किनेर खानुपर्छ । घरधनीहरु दिउँसै बत्ती बाल्नुपर्ने अध्याँरो सानो कोठाको मासिक पाँच हजारदेखि दश हजारसम्म लिन्छन् । एक फ्रल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको ५० हजारदेखि १५ लाखसम्म लिइएको पाइन्छ । 

खाद्यान्नको मूल्य पनि त्यत्तिकै बढेको छ । सय रुपैयाँदेखि १५ सयसम्म खाद्यान्नको मूल्य बढेको पाइन्छ । महंगी बढेको बढ्यै छ तर यहाँ एकातिर काम पाइन्न अर्कोतिर काम गरेपनि समयमा तलब दिइदैँन । मानिसलाई भोक लाग्छ खानेकुरा चाहियो । बस्नका लागि बाँस चाहियो । 

अहिले राजधानीको व्यापारिक स्थलहरुमा समेत व्यापारीहरु व्यापार नभएको गुनासो गर्छन् । मालपोत र यातायात कार्यालयमा लेखनदास गर्न बसेकाहरु पनि कोही सेवाग्राही आउँदैनन् भनेर भन्छन् । त्यस्तै, ज्यालादारी गर्नेहरु अहिले घरघरमा काम खोज्दै आइपुग्छन् । हरेक क्षेत्रमा मन्दी आइसकेको सर्वसाधारणको भनाइ छ । 

एकथरी मानिस फेरि सहकारीले पैसा खाइदियो भन्छन् । सहकारीले बचत गरेको रकम समेत खाइदिँदा, व्यापारव्यवसाय ठप्प हुँदा र महंगी बढेको बढ्यै गरेपछि मानिसहरु उपत्यका छोडेर आफ्रनै गाउँघर फर्किन लागेका हुन् । 

महिना मर्नुअघि घरधनी भाडा माग्न ढोका ढक्ढकाउँछ । पसलमा सामान किन्नुअघि पैसा दिनुपर्छ । सार्वजनिक यातायातमा चढ्नेबित्तिकै सहचालक भाडा निकाल्नुस् भन्छ । बिरामी भएर अस्पताल जाँदा भर्ना अघि नै पैसा डिपोजिट गर्नुस् भनिन्छ । सरकारी विद्यालयमा पनि विभिन्न बहानामा पैसा उठाइन्छ । 

निजी विद्यालय त झन् अभिभावक लुट्न र ठग्न खुलेका हुन् । कतिपय अभिभावकले फिस तिर्न नसक्दा बालबालिकाहरु परीक्षा दिनबाटै वञ्चित भएको तथा आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगेको घटना पनि छन् । व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । 

पछिल्लो समय सर्वसाधारण पसल जान छोडेका छन् । दिनप्रति दिन महंगीले सीमा नाघ्रदा सर्वसाधारणले अत्यावश्यक वस्तु तथा सामान समेत किन्न छोडेका छन् । घरजग्गा, गाडी र सेयर दलालीहरुको पनि बिजोक छ । एक कप चिया खान समेत उनीहरु अरुको आशमा बस्छन् । 

करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले झप्वाम पारिहाल्यो । एकै बचतकर्ताको पाँच हजारदेखि करोडसम्म सहकारीले पचाएको छ । सहकारी पीडित बचतकर्ताहरु राजधानीको माइतीघर मण्डलामा ६२ दिन आन्दोलनमा बसे । तर, उपलब्धि केही भएन । 

जनताले अहिले सहकारीमा बचत गर्न छोडेका छन् । सहकारीका कर्मचारी वा सञ्चालक देखे उनीहरु चोर, फटहा, दलाल आयो भन्छन् । सरकारले आगामी चैत्र मसान्तभित्र बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको छ । 

तर, बचत माग्न सहकारी जाँदा कार्यालय नै बन्द छ । कतिपय सहकारी खुलेपनि भित्र कर्मचारी हुदैँनन् । सहकारीले बचत फिर्ता नगरेपछि कोठा भाडा, बालबालिकाको फिस र उपचार खर्चका लागि मानिसहरुले आफुसँग भएको सुन धितो राखेको पाइन्छ । 

यस्तो गर्दा एक लाखको सुन धितो राखेमा ५० हजार दिइन्छ, त्यो पनि ३६ प्रतिशत ब्याजमा । फेरि तीन महिनाभित्र त्यो ऋण तिरिसक्नुपर्छ । नभए एक लाखको सुन ५० हजारमा पचाइन्छ । मानिससँग धितो छ । तर, धितो किन्ने चाहिँ कोही छैन । 

घरजग्गा, गाडी र सेयरको मूल्यमा दिनहुँ गिरावट आएको छ । हिजो घरजग्गा, गाडी र सेयर भएकाहरु यो बेच्दा यति मूल्य आउँछ भनेर घमण्ड गर्थे । तर, त्यो घमण्ड आज सकिएको छ । घरजग्गा, गाडी र सेयरको मूल्य पाँच दशकअघिकोमा फर्किएको छ । 

जे व्यक्तिले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेको थियो, उसलाई आज मर्नु कि बाँच्नु भएको छ । सार्वजनिक स्थलहरुमा बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर वा व्यापारव्यवसायमा डुबेपछि आत्महत्या गरेको प्रशस्तै सुनिन्छ । 

पहिलापहिलाका मानिसहरु खेतबारी ठूलो भन्थे । जोसँग खेतीयोग्य जमिन छ, ऊ नै सबैभन्दा धनी भनिन्थ्यो । पछिल्लो समय खेतीयोग्य जमिनमा घर बनाइयो । त्यहँी जमिन बेचेर गाडी र सेयर किनियो । तर, घर, गाडी र सेयरको मूल्य घटेपछि अहिले ती व्यक्तिहरु तनावमा छन् । 

दुई वर्षअघि आनाको २५ लाखमा किनेको जग्गा अहिले लाख रुपैयाँमा बिक्री नभएको समेत सुनिन्छ । चार हजार कित्ता हालेको सेयर सय रुपैयाँमा बिक्दैँन । १५ लाखमा किनेको गाडी लाख रुपैयाँमा बिक्री हुन्न । सहकारी त बचतकर्ताको रकम लिएर भागिहाल्यो । 

बैंकमा आफुले नै राखेको रकम लिन जाँदा समेत किचकिच गरिन्छ । अहिले बैंकमा बचत गर्नेभन्दा निकाल्नेको भीड छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका कारण बैंक टाट पल्टिने अवस्थामा पुगेको बताइन्छ । 

बैंकबाट अर्बो ऋण लिएर साँवाब्याज तिर्ने धेरै छन् । तीमध्ये यीनीहरु पनिहुन् । बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसकेको छ । डोकोमा साग बेच्ने समेत व्यापार नै हुन छोडेको बताउँछन् । सानो व्यापारी होस् ठूलो मन्दीका कारण भाडा नै तिर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । 

कामदारलाई पनि तलब दिन नसकेपछि धमाधम कामबाट निकालेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अहिले पनि अर्थतन्त्र सुधारको बाटोमा रहेको बताइरहन्छन् । हप्तामा दुई दिन (सोमबार÷बिहिबार) मन्त्रिपरिषद्को बैठक बसिन्छ । 

अनि बैठकमा हप्तैपिच्छे विदेशी ऋण स्वीकृत गरिन्छ । राज्यको ढुकुटीमा राजस्व संकलन गर्न छोडिसकेको छ । २७ खर्ब विदेशी ऋणको साँवाब्याज तिर्न नसक्ने अवस्थामा सरकार पुगेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । 

हुँदाहुदैं देशै कालोसूचीमा पर्ने अवस्थामा पुगेको छ । सरकार न सरकारी कर्मचारी, जनप्रतनिधि, ज्येष्ठ नागरिकको तलब तथा भत्ता कटौती गर्छ न त सेवासुविधा गर्ने कटौती गर्छ । अर्थमन्त्री र प्रधानमन्त्री अर्थतन्त्रमा कुनै समस्या छैन भन्दै जनतालाई भ्रममा परेर कुर्सीमा बसेका छन् । 

मुलुकको अर्थतन्त्र, महंगी, बेरोजगारी र गरिबीको अवस्था बारे अर्थमन्त्री, प्रधानमन्त्रीभन्दा बढी ज्ञान बालबालिकामा छ । महंगीले सीमा नाघ्रिसकेको छ । गरिबहरु भोकभोकै मर्नुपर्ने अवस्था निम्तिएको छ भने धनी झन् झन् धनी हुँदै गएको छ । धनी र गरिबबीचको खाडल बढेको छ । 

घरधनीहरु कोठा, सटर भाडा महिनैपिच्छे बढाउँछन् । यातायात व्यवसायीहरु सार्वजनिक यातायातको भाडा बढाएको बढ्यै गर्छन् । निजी अस्पताल र विद्यालय जनता ठग्न पल्केका छन् । सरकारी विद्यालयका शिक्षकशिक्षिकाहरु बालबालिका पढाउँदैनन्, राजनीतिक दलको झोला बोकेर हिँड्छन् अनि जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । 

सरकारी अस्पतालमा बसेका डाक्टर, नर्सहरु पनि बिरामीको उपचार गर्दैनन् । उल्टो निजी क्लिनिकमा बिरामी रिफर गर्छन् । एउटै सरकारी कर्मचारीको मासिक तलब ३२ हजारदेखि लाखौं छ । भत्ता र सेवासुविधा छुट्टै हुन्छ । घरधनीहरु पनि घर भाडामा लगाएर मासिक लाखदेखि करोड उठाउँछन् । 

यी व्यक्तिहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया छन् । महिनामै दशौं लाख कमाउँछन् । तर, महिनामा पाँच हजार कमाउने र दश लाख कमाउनेलाई बजारमा सामानको मूल्य भने बराबर हुन्छ । तेरो काम गर्ने ठाउँमा तलब कम रहेछ भनेर न घरधनीले कोठा सस्तोमा दिन्छ न पसलले सामान । 

अस्पतालहरुमा पनि उपचार निःशुल्क गरिदिइदैँन । जो मानिस चिप्लो घस्न सक्छ, झुट्टो बोल्न र अरुलाई सजिलै ठग्न सक्छ, ऊ यहाँ सजिलै बस्न सक्छ तर जो मानिसलाई यस्तो काम गर्न आउँदैन, ऊ गाउँ फर्किनुबाहेक केही विकल्प छैन । 

घरधनी, व्यापारी र व्यवसायीहरुले यहाँ आफ्नो मनोमानी चलाएका छन् । तर, सरकार अनुगमन गरेर कारबाही गर्दैन । सरकार भन्छन्, श्रमिकलाई मासिक १७ हजार तीन सय तलब दिनुपर्छ । बिडम्बना अहिले पनि मासिक तीन हजारमा मानिसहरु अरुको घरमा बिहानदेखि बेलुकासम्म काम गर्न बाध्य छन् । अनि कहाँ छ सरकार ? कहाँ छ कानून ?