काठमाडौंः किराँत राई यायोक्खा काठमाडौंले शनिबार टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा देशभरका किरात समुदायको जमघट थियो ।

किराँत मात्र होइन, अन्य समुदायका मानिसको पनि उत्तिकै भीड देखिन्थ्यो । किराँती समुदायको खानाका विभिन्न परिकार, पहिरनका वस्तु आदिका कक्षमा निकै भीड थियो । टुँडिखेलमा किराँती पहिरनमा विभिन्न समूह बनाएर साकेला नाच्नेको निकै रौनक थियो । परिवार, आफन्त र साथीभाइका साथ कार्यक्रममा पुगेका केही नाच्नमा व्यस्त थिए भने केही खानपिनमा रमाइरहेका थिए ।

सोही कार्यक्रममा थिए प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई पनि । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले किराँतीका मुख्य देवता तीन चुलामा आगो बाली सुम्निमा र पारूहाङको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि साकेला थानमा गोलाकार भएर साकेला उँधौली नाच प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री राईसहित किराँती समुदायका अगुवा, सांसद, कलाकार आदिको कार्यक्रममा उपस्थिति थियो ।

प्रदेश नं १ को नाम र राजधानी चाँडै

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश संसद्को हिउँदे अधिवेशनबाट प्रदेश नं १ को नाम र राजधानी टुङ्गो लगाइने बताए । यी दुवै विषयमा छलफल र बहस व्यापक बनाएको उनको भनाइ थियो । यो विषय चुनौतीपूर्ण भए पनि यसलाई सहमतिका आधारमा टुङ्गो लगाइने उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेशको नाम किराँत राख्नेबारे सम्बद्ध निकाय र विज्ञको राय लिइएको र अन्य विचार र भावनालाई पनि आत्मसात् गरी तथ्यपूर्ण र तर्कपूर्ण आधारको जगमा उभिएर नामकरणका विषयलाई निरुपण गरिने बताए ।

साकेलाको आफ्नै महत्व
सो अवसरमा मुख्यमन्त्री राईले भूमि पूजक किराँती समुदायले हर्षाेल्लासका साथ मनाउने साकेला सांस्कृतिक चाडको आफ्नै गरिमा र महत्व रहेको बताए । सामाजिक सद्भाव, एकता र भाइचारा अभिवृद्धिमा साकेलाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । मुलुक परिवर्तनका लागि रामप्रसाद राई, नारदमणि थुलुङ, रन्तकुमार राई आदि किराँती योद्धाको अथक योगदान रहेको बताउँदै ऐतिहासिक सांस्कृतिक किराँती धरोहर र सम्पदाको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिएका थिए ।

sakela