भोजपुरः भोजपुर जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।
भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनबेत, बुढो ओखती, मजिटोलगायत जडीबुटीको व्यावसायिक रूपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यस्तै सेतकचिनी, वनआलु, वनमुला, वनलसुन, बिखुम्मा, धसिङ्ग्रे, बोझो कुट्की, पदमचाल, सुगन्धवाललगायतको खेती भए पनि व्यावसायिक खेतीका लागि किसानलाई प्रोत्साहन गरिने भएको छ ।
जडीबुटी उत्पादक, सङ्कलक तथा व्यापारीसँग भएको अन्तरक्रियामा जडीबुटीको मूल्य निर्धारण गर्न, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनसमेत सम्बद्ध व्यक्तिले माग गरेका छन् । किसानबाट आएका सल्लाह सुझावका आधारमा कार्ययोजना बनाएर समाधानमा लाग्ने डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहले प्रतिबद्धतासमेत जनाए ।
किसानसँग छलफल गर्दा धेरै समस्याबारे जानकारी भएको र यसको समाधानका लागि माथिल्लो निकायसँग कुरा गर्नाका साथै कार्ययोजना बनाएर काम गर्न आफू तयार भएको शाहले बताए । किसानले जिल्लाको खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, लेखर्क किमालुङलगायतका स्थानमा जडीबुटी खेती गर्दै आएका छन् ।