इटहरीः केही महिनाअघि इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोख्रेलले आफ्नो क्षेत्रमा लत्रेका तारहरू हटाउने कार्यक्रम सुरु गरेको भनी उद्घोष गरे । केही दिन अभियान चलाएजस्तो पनि गरेर देखाए । सामाजिक सञ्जालमा वाहवाही पनि बटुले । तर, अहिले त्यो अभियान पोख्रेलकै वडा कार्यालयमा थन्को लाग्नुबाहेक केही भएन ।

न काम, न योजना भनेजस्तै भएको छ । विद्युत् सेवा प्रदान गर्न गाडिएका पोलमा क्षमताभन्दा बढी इन्टरनेटका तार लत्रिएको जो कोहीले सजिलै देख्न सक्छन् । जसका कारण बर्सेनि आगलागीका घटना दोहोरिरहेका छन् भने सहरको पहिचान पनि कुरूप बन्दै गएको छ । पोलहरूमा थाम्नै नसकिने तारका गुजुल्टाले सहर विगत केही वर्षयता कुरूप बन्दै गएको छ । स्थानीय सरकारका प्रतिनिधि तथा विद्युत् प्राधिकरणले नियमित रूपमा अनुगमन नगर्दा र यस विषयमा चासो नराख्दा अव्यवस्थित तारका गुजुल्टाले सहरको स्वरूप बिग्रँदै गएको हो ।

तारकै कारण वर्षैपिच्छे विद्युत् सर्ट भई आगलागीका घटना हुने गरे पनि स्थानीय सरकारले केही गर्न नसकेको स्थानीय व्यवसायी उज्वल घिमिरे बताउँछन् । विगतका दिनमा आहा सुन्दर नगरी इटहरी भनेर चिनिए पनि अहिले अव्यवस्थित तारकै कारण कुरूप नगरी इटहरी भनेर चिनिन थालेको व्यवसायी घिमिरे बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा इटहरीले पनि बिजुलीको पोलमा लत्रिएका अधिकांश इन्टरनेट कम्पनीका तारहरू कामै नलाग्नेगरी बिग्रिएका भए पनि अहिलेसम्म नहटाउँदा व्यवस्थापन गर्न असहज भएको बताएको छ ।

प्राधिकरणका अनुसार इटहरीस्थित मुख्य राजमार्गमा गाडिएका बिजुलीका पोलमा लत्रिएका तारमध्ये ७० प्रतिशत कामै नलाग्नेगरी बिग्रिएका छन् । काटिएका तार सम्बन्धित इन्टरनेट कम्पनी र केवल सञ्चालकहरूले ननिकाल्दा बिजुलीको पोलहरूमा क्षमताभन्दा बढी तार गुजुल्टिएको देख्न सकिन्छ ।

पोलमा गत वर्षदेखि आगलागी भई नष्ट भएका तारहरू अझै पनि त्यत्तिकै लथालिंग रहेका छन् भने काटिएका र चुँडिएका तारहरू पनि पोलमै अड्किएर रहेका छन् । इटहरीमा दुई दर्जनबढी इन्टरनेट सेवा प्रदान गर्ने शाखा कार्यालयहरू रहेका छन् भने दर्जनबढी केवल टिभीहरू सञ्चालन हुँदैआएका छन् ।

यता, तार व्यवस्थापन गर्ने अभियान चलाएका इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोख्रेलले लत्रेका तार व्यवस्थापनभन्दा पनि मुठा पारेर पोलमै राख्ने काम भएको बताए । उनले पोलका तारहरू हटाउन असम्भव रहेको प्रस्ट पारे । वडाध्यक्ष पोख्रेलले आफ्नो अधिकारभित्र रहेर गर्नुपर्ने काम आफूले गरेको र यो अभियान अझै पनि जारी रहने बताए ।

यता, विद्युत् प्राधिकरण इटहरी शाखाले भने लत्रिएका तारहरू प्राधिकरण र स्थानीय सरकारको रोहबरमा हटाउने काम भइरहेको र केही स्थानमा हटाइसकिए पनि इटहरी राजमार्गसँग जोडिएका तारहरू हटाउन केही कठिनाइ रहेको बताएको छ । सम्बन्धित केवल सञ्चालक, इन्टरनेट शाखा प्रतिनिधिहरूसँग छलफल गरेर तारहरू व्यवस्थित गर्नेतर्फ प्राधिकरण तत्पर रहेको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।