इलामः २० गते बिहानै इटहरीका व्यापारीहरू इलामको प्रसिद्ध पर्यटकीय स्थल माइपोखरी पुगे । माइपोखरी पुग्नेमा इटहरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट नेतृत्वमा व्यापारीहरू थिए ।
पहिलोपटक माइपोखरी पुगेका बिष्ट अत्यन्तै उत्साहित देखिए । ‘माइपोखरी पहिलोपटक आएँ तर यसले भारतको चर्चित नैनीताल बिर्सायो’, बिष्टले भने, ‘यहाँ आउने बाटो मात्रै खराब, बाँकी सबै कुरा अत्यन्तै राम्रो लाग्यो ।’
२० गतेको इलामको लगानी सम्मेलनमा पुगेका बिष्ट नेतृत्वको समूह बिहानको समय निकालेर माइपोखरी पुगेका थिए । इलाम बजारबाट १७ किलोमिटरको सडक दूरीमा पुगिने २१६४ मिटर उचाइको यो क्षेत्रमा बिष्टसँगै पुगेका सबै उत्साहित भए ।
घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले माइपोखरी अत्यन्तै सुन्दर र मनोमहक भएको बताए । ‘९ कुनाको सुन्दर पोखरी, वरिपरिका हरिया बुट्यान सुन्दर छन्’, घिमिरेले भने, ‘धुपीका अग्ला रुखहरूले त नमस्कार गरेर स्वागत गरेको झल्को दिन्छन् ।’
इटहरी एमालेका पूर्व अध्यक्ष तथा नेकपा नेता रेवती घिमिरेले पनि माइपोखरी मनमोहक भएको बताए । माइपोखरी आउने सडक र पोखरी क्षेत्रको पानी जोगाउन विज्ञको सल्लाहमा संरक्षण हुनुपर्ने घिमिरेले बताए ।
यस्तै, इटहरीका चर्चित पर्यटन व्यवसायी तथा होटल एसोसिएसन अफ इटहरीका पूर्व अध्यक्ष रविन गौतमले इलामको प्राकृतिक सम्पदा माइपोखरी भएको बताए । किरात तथा वैदिक सनातन धर्मको आस्थाको केन्द्र, जैविक विविधताको खानी र आकर्षक पोखरी क्षेत्र भएको माइपोखरी इलामका ११ मुख्य गन्तव्यहरूको पनि मुख्य गन्तव्य भएको उनले बताए ।
माइपोखरी जाँदा ८ किलोमिटर सडक कच्ची छ । सो सडक कालोपत्रे गरेमा र स्थानीय होटलमा स्थानीय अर्गानिक उत्पादन र खानपान पाउने वातावरण भए माइपोखरीमा आगन्तुक झनै बढ्ने इटहरीका आगन्तुकहरूले बताए ।