प्रकाश नेपाल

लगभग ८५ मिटरको उचाईबाट निरन्तर बगिरहने धनकुटाको साँगुरीगढी गाँउपालिकामा पर्ने नमस्ते झरना विशेषगरी भारतीय पर्यटकहरुको प्रमुख रोजाई हो । यहाँ आउने पर्यटकहरु मध्ये ८० प्रतिशत भारतको विहारबाट मात्रै आउने गर्दछन् । ८० प्रतिशत भारती र २० प्रतिशत नेपाली पर्यटकहरु आउने यस ठाउँमा मेला झै लाग्छ । भिडियो खिच्न हामी पुगेको दिन बिहिबार थियो । झरनाको छङछङ आवाज बाहेक सबैतिर शान्ति थियो ।

बेलुकाको ३–४ बजिसकेको हुनाले २–४ जना पर्यटकहरु र हाम्रो ५ जनाको ग्रुप बाहेक कोही पनि थिएनन । अनकन्टार ठाउँ जस्तो लाग्ने झरना प्रवेश गर्न एक्लै जाँदा डर भने असाध्यै लाग्छ । वरिवरी पहाडको खोचमा अवस्थित झरना हेर्न जति रमाईलो लाग्छ, त्यतिनै डर पनि । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भेडेटार र नमस्तो झरना पुग्ने बाटो र अन्य जानकारी सहितको यो सामाग्री भिडियो सहित तपाईहरुमा पस्केका छौ । 

पूर्वको सुन्दर शहर धरान र धरानबाट १६ किलोमिटर उत्तरमा पर्ने भेडेटार समुन्द्रीय सतहबाट १४२० मिटरको उचाईमा अवस्थित छ । बर्षेभरी चिसो मौसम हुनु भेडेटारको मुख्य विशेषता हो । यस ठाउँको सम्पूर्ण जानकारी भेडेटारको भिडियोमा दिएका छौं । भिडियो हेर्न छुटाउनुभएको भए डिस्क्रीप्सनमा गएर हेर्न सक्नुहुनेछ । भेडेटारबाट ८ किलोमिटरको दुरीमा नमस्ते झरना पुग्न सकिन्छ । पछिल्लो समय भेडेटार घुम्न आउने पर्यटकहरु झरनासम्म आउने गर्दछन् । धेरैजसो पर्यटकहरुले त नुहाउनका लागि भनेर फेर्ने कपडा र टावेल समेत बोकेरै आउँछन् । तराईको गर्मीबाट आएका पर्यटकहरु २–३ घण्टासम्म झरनामा रुझेर फर्किन्छन । 

403625898_363000642971278_2829024130144018678_n

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने नमस्ते झरना प्रवेश गर्न गेट निर्माण गरिएको छ । पिकनिक खान आउने पर्यटकहरुका लागि स्पोट पनि छ । पिकनिक स्पोटको छेउमै दर्जन बढी होटलहरु सञ्चालनमा रहेका छन् । यहाँ घुम्न आउँदा खान र बस्नका लागि कुनैपनि समस्या पर्दैन । गाडी पार्किङ्ग गर्ने, पिकनिक खाने र होटलमा आउने पर्यटकहरुले कहिलेकाही त खुट्टा राख्ने ठाउँ समेत हुदैन ।

सिम्सुवा खोलामा पर्ने नमस्ते झरनालाई सिम्सुवा झरना पनि भनिन्छ । प्रतिव्यक्ति ४० रुपैयाको टिकट लिएर झरना प्रवेश गर्न सकिन्छ । यहाँसम्म पुग्न पार्किङ्ग स्थलदेखि ३० देखि ४० मिनेटको पैदल यात्रा गर्नुपर्छ । पहरालाई कोट्याएर निर्माण गरिएको बाटोलाई पछ्याउदा रुखका छाहारीले शितल अनुभव हुन्छ । चराचुरुङ्गीको चिरविर आवाजले पैदल यात्रालाई थप मोराञ्चक बनाउँछ । सामुहिक रुपमा गफिदै हिड्दा बाटो कटेको पत्तै हुदैन ।

अलिक अगाडी पुगेपछि झरनाबाट बगेको पानीको आवाज सुनिन थाल्छ । सिम्सुवा खोला माथिको पुलबाट बगिरहेको पानीको आवाज र दृश्यले प्रकृति नजिक पुगेको आभास दिलाउँछ । पुलबाट पारीबाट उकालो शुरु हुन्छ । पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर ट्वाइलेट र विश्रामस्थल निर्माण गरिएको रहेछ । हिडेर थाकेको शरीरलाई टुसुक्क बसेर एकैछिन आराम दिएपछी पुनः यात्रा शुरु गर्न सकिन्छ । बाटैमा ढुंगाको घर बनाउने ठाउँ रहेछ । ढुंगाको घर बनाउँदा आफ्नो मनोकाक्षा पुरा हुन्छ भन्ने जनविश्वास छ ।

अघिनै पुल तरेर पश्चिम उत्तरतर्फ उकालो लागेको बाटो पुन खोलातर्फ लाग्छ । आवत जावत गर्न सहज होस् भनेर रेलिङ सहितको भ¥याङ्ग निर्माण गरिएको रहेछ । भ¥याङ्गबाट उकालो चढ्ने बित्तिकै झरनाको छङछङ आवाज सुनिन्छ । अनि पानीको बहावले दिने चिसो हावा शरीरमा पर्छ । 

386856636_335521172557335_3187224780370877013_n

२०७० सालमा समिति गठन गरेर संरक्षण गर्न शुरु गरिएको नमस्ते झरना साँगुरीगढी गाउँपालिकाको प्रमुख पर्यटकीय ठाउँ हो । पूर्वाधार निर्माण र स्तरोन्नतीका लागि बर्षेनी गाउँपालिकाले बजेट छुट्याउने गर्दछ । अघिल्लो पटक हामी आउँदा बाटोको स्तरोन्नती भइसकेको थिएन । हालभने विश्रामस्थल, ट्वाईलेट, रेलिङ लगायतका पुर्वाधारहरु निर्माण भइसकेका रहेछन । यसले गर्दा झरना अवलोकन गर्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने पहिलेको समस्या हालभने छैन ।

साँगुरीगढी गाउँपालिकामा दर्जनबढी पर्यटकीय गन्तव्यहरु छन् । भेडेटार, नमस्ते झरना, ओख्रेडाँडा, साँगुरीगढी, सानो पाथिभरा मन्दिर लगायतका ठाउँहरुको पर्यटन प्रबद्र्धन गरी बढी भन्दा बढी पर्यटकहरु भित्र्याउन सकिन्छ ।

 विशेषगरी शनिबार र आइतबार धेरै भिडभाड हुने गर्दछ । झरनामा नुहाउन चाहाने पर्यटकहरुका लागि चेन्जिङ रुमको पनि व्यवस्था गरिएको रहेछ । २–३ घण्टा झरनामा रुझेर जाँदा तराईको गर्मीले सताएको शरीर उर्जावान भएर आउँछ ।

भिडभाड व्यवस्थापनका लागि स्वयंसेवकहरु खटाइएका छन् । होहल्ला गर्ने र बदमासी गर्नेहरुलाई तुरुन्तै सिठ्ठी फुकिन्छ । जुनसुकै उमेर समूहलाई समेत प्रवेश अनुमति दिइने नमस्ते झरनामा जो कोहीले पनि घुमफिर गर्न सक्छन् । विशेषगरी युवा युवतीहरुको रोजाइमा पर्ने गरेको नमस्ते झरना सुन्दर प्राकृतिक पर्यटकीय स्थल हो ।

हामी पुग्दा बेलुकाको ४ बजिसकेको थियो । झरनामा रुझेर फर्किने चाहाना पुरा हुन नसकेपनि केही समय प्रकृतिको नजिक आउँदा आनन्द लाग्यो ।