काठमाडौंः बेलायतमा भएको सवारी दुर्घटनामा मेजर गणेश राईको निधन भएको छ । नोभेम्बर २९ बुधबार दिउँसो करिब सवा १ बजे एम थ्री जक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उनको निधन भएको हो ।

बेइजिङस्टक गजेटका अनुसार शुरुमा राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बताइएको छ ।

प्रहरीले सो घटनाका बारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपील गरेको छ । भोजपुर पुर्ख्यौली घर र आर्मी नम्बर २११६८८६० भएका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए ।

३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकाश पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए । उनको श्रीमती र दुई छोरी रहेका छन् ।