इटहरीः प्रदेश १ का ९३ सांसदहरूमा २१ जनाले सरकारले दिएको स्वकीय सचिवको सुविधामा आफन्त भर्ती गरेको पाइएको छ । यसो गर्ने २१ जना सांसदमा १४ जना नेकपाका छन् भने ७ जना काङ्ग्र्रेसका छन् ।

१–१ सांसद भएका राप्रपा र सङ्घीय लिम्बुवान मञ्च अनि ३ सांसद भएको सङ्घीय समाजवादी फोरमका सांसदहरूले भने स्वकीय सचिवमा आफन्त भर्ना गरेका छैनन् । यस्तै, मुख्यमन्त्री शेरधन राईको प्रदेश मन्त्रिमण्डलका ५ सदस्य, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल जस्ता उच्च पदस्थहरूले भने स्वकीय सचिवमा आफन्त भर्ती गरेका छैनन् ।

चलनचल्तीको भाषामा पिए भनिने स्वकीय सचिवको सुब्बासरहको तलबभत्ताको सुविधा हुन्छ । र, यसरी राम्रो सुविधा हुने भएपछि आफन्तलाई भर्ती केन्द्रको रूपमा राखी स्वकीय सचिव पदको दुरुपयोग हुने गरेको छ । स्वकीय सचिवको आफ्नै खातामा हरेक महिनाको अन्तिम साता २३ हजार २ सय ६५ रुपैयाँ तलब आउँछ । यही रकम आफन्तको पोल्टामा पार्न सक्रिय २१ सांसद यी हुन्ः

१. आशारत्न जबेगू – विजयादेवी जबेगू (बहिनी)
२. तुलसीप्रसाद न्यौपाने – बिन्दु न्यौपाने (छोरी)
३. निरन राई – सरिता राई (बहिनी)
४. वसन्तीदेवी यादव – अरबिन्दकुमार यादव (छोरा)
५. बुद्धिकुमार राजभण्डारी – दिनेश राजभण्डारी (भतिज)
६. मोहनकुमार खड्का – एकीन्द्रराज कटुवाल (ज्वाइँ)
७. सुनिता चौधरी– बिना चौधरी (भाइ बुहारी)
८. सीता थेबे– शर्मिला थेबे (बहिनी)
९. काजीमान कागते– लाक्पादोर्जी कागते (छोरा)
१०. वृषबहादुर प्रधान– पुष्पा उप्रेती (छोरीकी नन्द)
११. श्रीप्रसाद मैनाली– धनपति मैनाली (भतिज)
१२. ज्योति सुब्बा– कृतिका सुब्बा (नातिनी)
१३. पूर्णप्रसाद राई– भरतकुमार राई (भान्जा)
१४. प्रतापप्रकाश हाङगाम– डम्बर हाङगाम (भतिज)
१५. मोहम्मद ताहिर मिया– असलम मिया (नाति)
१६. बिन्दिया कार्की– रविनसिङ कार्की (छोरा)
१७. सरिता थापा– उत्तरबहादुर खड्का (भतिज)
१८. सन्जाकुमारी दनुवार– ज्ञानी दनुवार (भदै)
१९. शान्ता पौडेल– प्रतिमा पौडेल (छोरी)
२०. शिवनारायण सिंह गनगाई– विनायक गनगाई (छोरा)
२१. हिमाल कार्की– नताशा कार्की