इटहरीः गुडिरहेका मालबाहक गाडीहरुलाई अवैधानिक रुपमा रोकेर ठेकेदारले खटाइएका कर्मचारीहरुबाट जवरजस्ती पार्किङ्ग शुल्क लिएको भन्दै ब्यवसायीहरुले तत्काल यस्तो कार्य रोक्न माग गरेका छन ।  आईतबार इटा ब्यवसायीहरुले इटहरी प्रहरी र इटहरी उपमहानगर नेतृत्वलाई भेटेरै यस्तो माग गरेका हुन् । 

इटहरी उपमहानरपालिकाले इटहरीमा पार्किङ्ग गरे बापतको पार्किङ्ग शुल्क लिन पाउने भनी पकलीका ब्यवसायी बमबहादुर ढकाललाई ठेक्का दिएको थियो ।  ढकालले एक बर्षका लागि  १ करोड ५१ लाख रुपैँयामा ठेक्का पारेका थिए । 

इटहरी उपमहानगरपालिकाका  नगर प्रमुख हेमकर्ण पौडेलले ब्यवसायीहरुको माग सुन्दै गुडिरहेका गाडीबाट शुल्क लिए नलिएको बुझ्ने बताएका छन । इटहरी प्रहरीले भने उपमहानगरपालिकाले ठेक्का लगाएकाले उपमहानगरको रसिद नै प्रयोग गरेर शुल्क लिएको हुँदा थप कुरा बुझ्ने बताएको छ । 

ढकालले ठेक्का पारेपनि उनले पार्किङ्ग गरिएका गाडीहरुबाट मात्र पार्किङ्ग शुल्क लिन पाउने व्यवस्था भएपनि गुडिरहेका गाडीहरुलाई रोक्दै मनपरी शुल्क उठाईरहेको ब्यवसायीले गुनासो गरेका छन् । ठेकेदारले मनपरी गरिरहँदा इटहरी सरकार र प्रहरीले गम्भिर रुपमा नलिइएको देख्दा आफुहरु अचम्मित भएको व्यवसायीहरुको भनाई छ । 

शनिबार मात्र इटहरीको बिराटनगरलाईनस्थित साथी पेट्रोल पम्प अगाडी गुडिरहेको ट्रिपर रोकेर शुल्क उठाएको भन्दै व्यवसायीहरुले इटहरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो क्षेत्रमा तत्काल जवरजस्ती शुल्क उठाईरहेका ठेकेदारका दुईजना युवा कर्मचारीलाई पक्राउ गरेको थियो ।  आईतबार पक्राउ परेका दुईजनालाई तारेखमा रिहा गरिसकिएको इटहरी प्रहरी प्रवक्ता कैलाश चौधरीले जानकारी दिएका छन् ।