विराटनगरः  कोशी प्रदेशमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ। झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको हो। केही समययता नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेका छन्। हात्तीको आक्रमणबाट २ साताको अवधिमा ४ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा २ जना झापाका छन्। 

लस्करै हिँड्ने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ। २ सातायता जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले सबैमा अनुरोध गरेको छ। प्रहरीका अनुसार २०र२२ वटाजतिको संख्यामा रहेका हात्तीको बथानमा एउटा छावा (हात्तीको बच्चा) पनि छ। बच्चा साथमा भएकाले पनि हात्ती अलि बढी आक्रामक भएको हुनसक्ने अनुमान प्रहरीको छ। 

मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा हात्तीको आक्रमणबाट सोमबार बिहान एक पुरुषको मृत्यु भयो। सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।  

लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलार्ई हात्तीले आक्रमण गरेको उनको भनाइ छ। बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले जंगलतर्फ फ्यालिदिएको प्रहरीले जनाएको छ। घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइन्छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालका अनुसार माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेको पाइएको छ। 

परिवारका सदस्यलार्ई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै थिए। जानकारहरूका अनुसार घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती अति आक्रामक हुन्छ। घरेलु मदिरा बनाउने गरिएका घरहरूलार्ई लक्षित गरेर हात्तीले बढी नै दुःख दिने र क्षति पु¥याउने गरेको जानकारहरू बताउँछन्। प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर हात्ती देखा परेका थिए। २०–२२ वटाको संख्यामा रहेको हात्तीको बथानलार्ई स्थानीय र प्रहरीले जंगलतर्फ धपाएको डीएसपी दाहालले बताए। 

यही मंसिर १३ गते राति हात्तीको आक्रमणमा परेर सुनसरीको इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको थियो। जंगल क्षेत्रबाट वस्तीमा निस्किएको हात्तीको बथान धपाउने क्रममा उनी आक्रमणमा परेका थिए। केही समययता इटहरी–२, ३, १९ र २० लगायतका वडामा हात्तीको बथान देखा परिरहेका छन्। 

झापाको हल्दीबारी गाउँपालिका–४ का ४० वर्षीय धनबहादुर वनको गत शुक्रबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ। उनी रणकाली सामुदायिक वन जलथलका चौकीदार थिए। सामुदायिक वनको रेखदेख गर्न गएका बेला उनलार्ई हात्तीले आक्रमण गरेको थियो। 

त्यस्तै, मंसिर ६ गते हात्तीको आक्रमणबाट झापाको दमकस्थित बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो। दाउरा खोज्न जंगल गएका बेला शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनमा तामाङलार्ई हात्तीले आक्रमण गरेको हो। 

वन्यजन्तु विज्ञहरू मानवीय स्वभाव र व्यवहारकै कारण हात्तीको आक्रमण बढेको बताउँछन्। हात्ती वस्तीनजिक आएपछि धपाउन ठूलो संख्या स्थानीय भेला भएर होहल्ला गर्ने, आगो बाल्ने तथा विभिन्न भाँडाकुँडा बजाएर हात्तीलार्ई त्रसित बनाउने काम गर्छन््। त्यसले हात्ती आक्रोसित भएर मानिसलार्ई आक्रमण गर्ने गरेको कोशी टप्पू वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। 

उनका अनुसार विशेष गरेर वर्षमा २ पटक जंगली हात्ती वस्तीमा देखा पर्ने गरेका छन्। असार–साउन तथा कात्तिक–मंसिरमा हात्तीको असर बढी देखिने यादवको भनाइ छ। जंगलमा आहार नपाइँदा खानेकुराको खोजीमा हात्ती वस्तीनजिक र बालीनाली लगाएको स्थानतर्फ आउने उनले बताए। ‘चिसो बढ्दै गएर जंगलमा आहार पाउन छाडिएपछि अहिले जंगली हात्ती वस्ती छिरेर क्षति गर्न थालेका छन्। कृषकले लगाएको बालीनाली खाइदिन्छन्,’ उनले भने, ‘अर्कोतर्फ हात्ती हिँड्ने परम्परागत बाटो अतिक्रमणको चपेटामा परेको छ। जताततै घर, सडक र नहरहरू बनेका छन्।’ हात्तीले हिँड्न परम्परागत बाटो प्रयोग गर्ने गरेको यादवको भनाइ छ। 

उनका अनुसार मानवीय क्षति कम गर्नका लागि होहल्ला र हात्तीलार्ई अवरोध पुग्ने काम गर्न हुँदैन। आफू हिँडेको बाटोमा कसैले अवरोध गरेमा हात्तीले आक्रमण गर्ने उनले बताए। ‘वस्तीनजिक आएपनि अवरोध नगर्दा हात्तीले मान्छेलार्ई आक्रमण गर्दैन। बालीनाली खाएर आफ्नो बाटो जान्छ,’ यादव भन्छन्, ‘सबै सचेत हुँदा मात्रै मानवीय क्षति कम गर्न सकिन्छ।

हात्तीसँगको द्वन्द्व कम गर्न हामीले आफ्नै व्यवहार सुधार्न जरूरी छ।’ उनका अनुसार हात्तीबाट भएको क्षतिको अध्ययन गरेर क्षतिपूर्ति दिने गरिन्छ। हात्तीको आक्रमणबाट कसैको मृत्यु भएमा परिवारलार्ई १० लाख, गम्भीर घाइतेलार्ई २ लाख र सामान्य घाइतेलार्ई २० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरिएको यादवले बताए। बालीनाली क्षति गरेमा १० हजारसम्म क्षतिपूर्ति दिइने उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।