विराटनगरः विराटनगरमा कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ  । पाँच जना घाइते भएका छन । 

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा आगलागी हुँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको मोरंग प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो २.१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

त्यस्तै विराटनगर ६ का दीपक मण्डलको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले यहाँ उपचार हुने संभावना नरहेको अस्पतालले जनाएको थियो ।

घाइतेहरुलाई काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । गृहले नेपाली सेनाको नेपाली सेनाको स्काई ट्रक पठाएकोले उनीहरुलाई काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी भएको थियो । गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरु सहजै भाग्न नपाएको प्रहरीले जनाएको छ ।

आगलागी प्रहरी, बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरील जनाएको छ । कवाडीको गोदम विराटनगर ६ का ४० वर्षीय दिपक मण्डलले सञ्चालन गरेको प्रहरीले जनाएको छ ।