इटहरीः    विराटनगर महानगरपालिका ७ स्थित कवाडी पसलमा आगलागी हुँदा घाइते मध्येका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । यो सहित सो आगलागीमा परी मृत्यु हुने संख्या तीन जना पुगेको छ । उपचारका क्रममा विराटनगर ६ की ६४ बर्षीया सुनिता कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । 

यसअघि बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर ६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको मृत्यु भएको थियो ।   

पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा  परी घाइते भएका विराटनगर ६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका ६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो । उक्त आगो छ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो । सो आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले मोरंगले जनाएको छ ।