बेलबारीः अस्थायी ट्रफिक पोष्ट बेलबारीले ‘चालकसँग दुई मिनेट’ अभियान थालेको छ । बढ्दो चिसो तथा हुस्सुका कारण सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिकले ‘चालकसँग दुई मिनेट’ अभियान थालेको हो ।

सवारी चालकलाई ट्राफिक जानकार दिन सवारीका साधन नै रोकेर दुई मिनेट प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले बताए ।

‘जाडो समयमा सवारीका साधन तीव्र गतिमा कुदाउँदा धनजन क्षति हुने गरेको छ’, श्रेष्ठले भने, ‘सवारी बिस्तारै हाँकाँै, आफू पनि बाँचाँै र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ चालक र सहचालकलाई दुई मिनेट सडकमै रोकेर सिकाउने गरेका छौँ ।’

दिनहुँ फरकफरक स्थानमा फरकफरक प्रकृतिका सवारीका चालक तथा सहचालकलाई ट्राफिकले जानकारी दिने गरेको अस्थायी ट्राफिक पोष्ट बेलबारीले जनाएको छ । पैदलयात्रीदेखी रिक्सा चालक सम्मलाई प्रहरीले ट्राफिक नियम सिकाउने गरेको छ । पैदल यात्रीहरूलाई पनि भेला गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक जानकारी दिनुका साथै ट्राफिक नियम सिकाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक प्रयोगकर्तालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर सडक दुर्घटना न्यूनीकरण गर्ने अभियानमा अहिले ट्राफिक प्रहरी लागेको बताइएको छ ।