इटहरीः इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयमा अध्ययनरत छात्रछात्रालाई आइतबारदेखि मेन्युसहितको दिवा खाजा कार्यक्रम सुरु भएको छ । इटहरी उपमहानगरपालिकाले टेन्डरमार्फत मासुसहितको मेन्युको खाजा खुवाउन सुरु गरेको हो ।

उपमहानगरपालिकाले विद्यार्थीलाई पोषिलो खानेकुरा खुवाउन सुरु गरेसँगै आइतबार यसको शुभारम्भ गरिएको छ ।

जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेन्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको उनको भनाइ छ । नेपालमै पहिलोपटक मेन्युसहित यस किसिमको खाजाको सुरुवात गरिएको उनको दाबी छ ।

‘यो कार्यक्रम लागू गर्न चुनौतीपूर्ण थियो । पोषणयुक्त खाना खुवाउने उद्देश्यले यस किसिमको कार्यक्रम योजना लागू गरेका हौं,’ उनले भने, ‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्वि गर्न उपमहानगरले पहल गरिरहेको छ ।’ यस वर्ष इटहरी उपमहानगरले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी बजेट विनियोजन गरेको उनले बताए ।

इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उपमहानगरपालिकाले ३ करोड बढी दिवा खाजाका लागि बजेट छुट्याएको जनाएको छ ।

प्राथमिक कक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा पकाएर खुवाउनुपर्ने नियम बनाइएको छ ।

इटहरी वडा नम्बर १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर यो कार्यक्रमको सुरुवात गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न संघीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालू आर्थिक वर्षका लािग इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि १ करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । तर, यो बजेट पर्याप्त नहुने भन्दै उपमहानगरपालिकाले थप ३ करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी कुल ५ करोड ६५ लाख रुपैयाँमा टेन्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले भने, ‘यो दिवा खाजा कार्यक्रमले हामी सबै विद्यार्थीमा एकरूपता ल्याएको छ ।’

इटहरीका सामुदायिक विद्यालयमा खाजा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहे पनि चाँडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुद बनाएर काम गर्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समिर कार्कीले बताए ।

यता, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यपाक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरूपता ल्याएको बताए ।

यस्तो छ उपमहानगरको मेन्यु

आइतबार प्रतिविद्यार्थी २ सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ । सोमबार विद्यार्थीलाई भुटेको अण्डा र चिउरा, मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउन सम्झौता भएको छ ।

यस्तै, बुधबार खीर र तरकारी खुवाउनुपर्ने हुन्छ । बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्ने बताइएको छ । शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साकाहारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनुपर्ने उपमहानगरले मेन्यु बनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।