काठमाडौंः  मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ।

वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०र८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।

लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ। बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ। सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ।

हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ। संकलित सोही रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ।

वैदेशिक रोजगारीको क्रममा नेपाली युवा रोजगारको क्रममा विभिन्न देश पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। सबैभन्दा खाडीका ६ वटा देश कतार, युएई, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा जाने गरेका छन्। त्यस्तै धेरै कामदार जाने अर्को देश भनेको मलेसिया हो।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार कामका लागि विदेश पुगेकामध्ये मृत्यु हुनेमा हालसम्म सबैभन्दा धेरै मलेसिया रहेको छ। मलेसियामा मृत्यु हुनेको संख्या ३ हजार ९ सय ६७ जना छन्। त्यस्तै मलेसियापछि साउदी अरेबियामा मृत्युको संख्या ३ हजार ४ सय ४६ जना र कतारमा २ हजार ४ सय ६० जना रहेको छ।

मलेसियामा आपसी झगडाका कारणले पनि नेपालीको मृत्यु हुने गरेको बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी गराएका छन्। मलेसिया, साउदी अरेबिया र कतारमा मृत्यु र बिरामी तथा अंगभंग हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको उनले बताए। यो तथ्यांक वैदेशिक रोजगार बोर्डको मात्रै हो। 

गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा भने छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएसँगै मृत्यु हुनेको संख्या पनि बढेको बोर्डका प्रवक्ता ढकालले जानकार गराए।

‘यसरी बिदेसिएका नेपालीमध्ये कडा खालको रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘मुख्य गरी मृत्यु हनेमा प्राकृतिक मृत्यु, कार्डिएक अरेस्ट, दुर्घटना, आत्महत्या नै मृत्युको मुख्य कारण रहेको छ। कतिपय देशका केही ठाउँमा मृत्युपछि हचुवाको भरमै मृत्युको कारण प्राकृतिक भनेर लेखिने गरेको पनि पाइन्छ ।’

उनी भन्छन्, ‘वयस्क र ऊर्जावान् उमेरका मानिस नेपालमै र गन्तव्य मुलुक पुगेपछि रोजगारदाताले गराउने मेडिकल जाँच पास हुने भए पनि मृत्यु भने अकस्मात् भइरहेका हुन्छन्। त्यस्ता युवा बाकसमा फर्किरहेका छन्, त्यो स्वाभाविक होइन, चिन्ताजनक विषय हो।’ विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको उनले खुलाए।

मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी, घाइते हुने गरेका अधिकारीहरूले बताए। वैदेशिक रोजगारीका क्रममा हृदयाघात भई ज्यान गुमाउने अर्को डरलाग्दो तथ्यांक छ।

नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयाघातलगायत मुटुसम्बन्धी समस्याले बिरामीसँगै ज्यान गुमाउनु परेको प्रवक्ता ढकालले बताए। ‘प्राकृतिक कारणले गर्दा धेरै नेपालीको ज्यान गए पनि विदेशमा खाडी मुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेहरूको संख्या पनि त्यस्तै छ। त्यहाँको उच्च तापक्रम र काम गराई नमिल्नु हो। यसका अतिरिक्त परिवर्तित वातावरणमा उनीहरूको जीवनशैली नमिल्नु र हेलचक््रयाइँ गर्नु पनि अर्को कारण हो,’ उनले भने।

विदेशमा सडक दुर्घटनामा र आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। यस्ता कारणले गर्दा वैदेशिक रोजगारमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको अधिकृतहरूको भनाइ छ। विदेशमा भएका कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा औषधि–उपचारका लागि ५० हजार रूपैयाँ दिने गरिएको छ।

सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १ सय ११ मुलुक खुला गरेको छ। व्यक्तिगत रूपमा भने १ सय ७८ मुलुकमा नेपाली युवा काम गर्न जाने गरेका छन् तर अधिकांश युवा खाडी तथा मलेसियामा केन्द्रित भएको देखिन्छ। तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये खाडी र मलेसियामा जानेको संख्या उच्च छ। वैदेशिक रोजगारीका लागि धेरैजसो अदक्ष कामदार विदेश जाने गरेको बोर्डका अधिकारीले बताए।

सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण गर्न भन्दै श्रममन्त्रीको अध्यक्षतामा २०६४ सालमा बोर्ड स्थापना गरेको थियो। वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु, अंगभंग भएका परिवारले आवश्यक शैक्षिक छात्रवृत्ति ८ हजार ९ सय ९४ जनालाई २ करोड २० लाख ४ हजार रूपैयाँ प्रदान गरिएको छ। बोर्डले विदेशमा अलपत्र परेका ७ सय १५ जना युवालाई उद्धार तथा खोजतलास गरेको जनाएको छ।

त्यस्तै विभिन्न देशबाट मृत्यु भएर आएका ५ हजार १ सय १९ जनाको शव काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिवारले चाहेको स्थानमा शवको सदगतका लागि निःशुल्क आर्थिक सहायता प्रदान गरेको बोर्डले जनाएको छ। त्यस्तै वैदेशिक रोजगारबाटै शव झिकाउन तथा घर पुर्‍याउने काम ७ सय ३५ जनाको गरिसकेको बोर्डका अधिकारी बताउँछन्।  यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।