इटहरीः ललितपुर बस्ने सुन्दर हरैंचाका अमृतबहादुर थापाले स्थानीय राजु चौधरीलाई झुक्याएर जग्गा बिक्रि गरेको र त्यसलाई रोक्का गर्न अदालतमा मुद्दा हाली जालसाजी गरेका छन्।

जग्गा बेचेवापतको ४५ लाख रकम विभिन्न मितिमा बैंकमा बुझेका थापाले कबोल गरेको जग्गाको साटो अर्को जग्गा पास गरे पनि रोक्का गर्दा चौधरीले ऋण तिर्ने बाटो समेत खुलेको छैन।

चौधरी उल्टै उक्त जग्गा किनेका कारण अदालत धाइरहेका छन् भने आफ्नो रकम फिर्ता लिनु त परै जाओस् अझ सापटी लगेको भनी थापाको झुठा मुद्दाको सामना गरिरहेका छन्।

चौधरीले थापाका नाममा राष्ट्रिय वाणिज्य बैंक, विभिन्न माध्यमबाट पठाएको ४५ लाख भन्दा बढी रकमका प्रमाण सुरक्षित छन्। ‘भनेको जग्गा पाएको छैन, पाएको जग्गाको बाटो खोलिदिन भन्दा पनि मानेका छैनन्। अझ उल्टै मै मुद्दा मामिलामा लाग्नु परेको छ’, चौधरी सुनाउँछन्।

सुन्दर हरैंचा नगरपालिका–९ को कित्ता नम्बर ४६९० को जग्गाका लागि चौधरीले रकम पठाएका थिए। थापाले पनि सोही जग्गाका निम्ति रकम लिएको भए पनि पास गर्ने बेला बाटो पनि नभएको कित्ता नम्बर ४६८९ को जग्गा दिए।

‘जग्गा बेच्ने मानिसले लाभकर तिर्नुपर्ने हो तर त्यसवापतको २ लाख २६ हजार ५० रुपैंया मलाई नै तिर्न लगाए’, चौधरी भन्छन्,‘जग्गा पाउने स्थिति नै नरहने भएपछि बाटो खोलिदिने सर्तमा जग्गा पास गरियो, अहिले फँसियो। त्यहि जग्गा राखेर ऋण तिर्छु भन्दा रोक्का गरिएको छ।’

थापाले पटक–पटक आफूले भनेको जग्गा दिन्छु भनी चौधरीसँग संवाद गरेका रेकर्ड र च्याटका विवरण सुरक्षित रहेका छन्। ‘आखिर उनले मलाई झुक्याउनु रहेछ पछि पास गरेको जग्गा समेत रोक्का गरेपछि आफू फँसेको थाहा पाएँ।’

कानुनी प्रक्रिया छल्नका लागि झुक्याएर थापाले चौधरीलाई २१ लाखको ऋण लिएको भनी दस्तखत गराएका छन्। जबकि, उक्त कागज गर्ने वडा कार्यालयलाई पनि यसको जानकारी छैन। सोही कागजको आडमा जग्गा पनि नदिने र चौधरीले पठाएको रकम पनि पचाउने दाउमा थापा रहेको प्रष्ट हुन्छ।

पटक–पटक उनले यस प्रकरणमा जग्गा दिने, बाटो खोलिदिन्छु भनी स्वीकारेका तथ्यप्रमाणले त्यहि भने पनि व्यवाहारमा पीडित बनाइएका चौधरीलाई थापाले अझ प्रताडित बनाएको ठहर हुन्छ। यता यस विषयमा थापासँग बुझ्न खोज्दा सम्पर्कमा आएनन्।