इनरुवाः   चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाएका छन । उनले खेती सुरु गर्दा रु पाँच लाख ३४ हजार खर्च भएको बताए । मेहताले आलुको बीउमा रु एक लाख ३० हजार, मल खाद्यमा रु दुई लाख ३४ हजार, मजदुरका लागि रु एक लाख १४ हजार र अन्य विविधमा रु ५६ हजार भएको जानकारी दिए । यसअघि आलुखेतीबाट मनग्य आम्दानी भए पनि यस पटक सोचे अनुसारको आम्दानी नहुने उनको भनाइ थियो ।

केही दिनयतादेखि बढेको चिसोका कारण आफूले लगाएको आलुमा रोगकिराको सङ्क्रमण देखिन थालेपछि अहिले मेहतासहित यहाँका अधिकांश किसान चिन्तित छन् । बिहान र बेलुकाको समयमा बाक्लो हुस्सो र चिसोका कारण आलु खेतीमा रोग लागेपछि खेती नष्ट हुन थालेको उनले बताए ।

आलुको बिरुवा सुक्दै जानु, पात झर्ने लगायत समस्या देखिन थालेको मेहताले बताए । चिसोबाट बचाउनका लागि औषधि छर्किएको भन्दै औषधिले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो । रोग लागेपछि चार सय किलो आलु उत्पादन घट्ने अनुमान गरिएको उनले जानकारी दिए । 

जिल्लामा राजकिशोर उदाहरण मात्र हुन् । उनीसहित जिल्लाको हरिनगरा, देवानगन्ज, रामनगर भुटहा, गौतमपुर, कप्तानगन्जलगायत क्षेत्रका किसान यतिबेला खेती नष्ट हुन थालेपछि निराश भएका छन् । 

श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बिचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह–७ का मङ्गल महतोले बताए । इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको उनको भनाइ थियो ।

सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेपछि नष्ट हुँदै गएको इनरुवा–९ बबियाका किसान सत्यनारायण यादवले बताए । 

कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको सङ्क्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उनको भनाइ थियो । सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ । 

कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेटमार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोको सङ्क्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । रासस