इटहरी: राजनीतिक दाउपेचका कारण मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय थलिँदै गएको छ । राजनीतिक नियुक्ति गरी विश्वविद्यालय कब्जा गर्ने रणनीतिले विश्वविद्यालयको अवस्था खराब बन्दै गएको हो ।
पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थित हुन सकेको छैन । विश्वविद्यालयमा अत्याधुनिक ८ वटा भवन, पुस्तकालय र प्रयोगशालाकक्ष उपयोग विहीन भइरहेका छन् । त्यस्तै नयाँ भवनहरू बन्ने क्रम पनि जारी छ ।
८ सय ५ बिघा क्षेत्रफलमा फैलिएको विश्वविद्यालय क्षेत्र वन्यजन्तु तस्करको अड्डा जस्तो भएको छ । राजमार्गदेखि ३ किलोमिटर उत्तर चारकोशे झाडीको छेउमा विश्वविद्यालय भएका कारण कसैले पनि उचित चासो दिन सकेका छैनन् । जसका कारण विश्वविद्यालयको हालत खराब बन्दै गएको स्थानीय बताउँछन् ।
गोठगाउँमा पर्याप्त भवन र भवन बनाउन प्रशस्त जग्गा हुँदाहुँदै पनि प्रशासनिक काम विराटनगरबाट भइरहेको छ । विराटनगरबाट ४० किलोमिटरको दूरीमा पर्ने विश्वविद्यालयको अवस्था दैनिक खस्कँदो अवस्थामा छ । विश्वविद्यालयका उपकुलपतिको निगरानी बाहिर विश्वविद्यालय रहेकाले चलायमान बन्न सकेको छैन । उपकुलपतिले विश्वविद्यालयलाई खासै चासो नदिएका कारण यस्तो अवस्था सिर्जना भएको पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य लोकप्रसाद सङ्ग्रौला बताउँछन् ।
विश्वविद्यालय सरोकार समाजका अध्यक्ष रञ्जन ओझा पनि उपकुलपतिको अकर्मण्यताको कारण समस्या आएको बताउँछन् । विश्वविद्यालयलाई कुनै योजनाविहीन अवस्थामा राखेर अस्तव्यस्त बनाएको उनको भनाइ छ ।
२०५० सालमा एक विकासक्षेत्र एक विश्वविद्यालयको अवधारणा विकास भएसँगै पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको हो । यही अवधारणा अनुसार वि. सं ०५२ सालमा विश्वविद्यालय सञ्चालन ऐन बनेको थियो ।
स्थापनाका बखत कार्यालयको अभावले गर्दा तत्कालीन ‘नेसनल ट्रेडिङको भवन विराटनगरमा कार्यालय राखेर काम शुरु भएको थियो । पछि विश्वविद्यालयको लागि जग्गा प्राप्त भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जग्गा भएको स्थान गोठगाउँमा नै केन्द्रीय कार्यालय राख्न निर्देशन दिएका थिए । तर भवनको अभावको कारण देखाउँदै विराटनगरमै घर भाडामा लिएर कार्यालय सञ्चालन भएको थियो । हालसम्म पनि केन्द्रीय कार्यालय भाडाकै घरमा रहेको छ ।
२०६५ सालदेखि गोठगाउँमा भवन निर्माण कार्य शुरु भएको थियो । १८ करोडको लागतमा ८ वटा भवन निर्माण भएको विश्वविद्यालय सहयोग समितिका अध्यक्ष समेत रहेका सङ्ग्रौलाको भनाइ छ ।
उनका अनुसार तत्कालीन अवस्थामा २ सय बिघा जग्गामा जडीबुटी खेती तथा प्रशोधन केन्द्र बनाउने र २ सय बिघामा भवन निर्माण गरी विभिन्न सङ्काय सञ्चालन गर्ने योजना बनेको थियो । ३ सय बिघामा नयाँ जातका बिरुवा रोप्ने र बाँकी जग्गामा सभागृह र सुपर मार्केट बनाउने योजना रहेको थियो । तर तत्कालीन माओवादी द्वन्द्वका कारण योजना असफल भएको थियो ।
‘गिरिजाप्रसाद कोइराला अस्वस्थ हुन थालेपछि विश्वविद्यालयले गति लिन छाडेको सङ्ग्रौला बताउँछन् । ‘राजाको शासनकालका उपकुलपति जगतबहादुर केसीको पालामा मेडिकल शिक्षा सञ्चालन हुने भनिए तापनि पछि गणतन्त्र आएपछि उक्त मुद्दा सेलाएर गयो,’ उनी भन्छन्, ‘उपकुलपति आफैँ राजनीतिक संरक्षणमा भएका कारण विश्वविद्यालय फस्टाउन नसकेको हो ।’
पूर्व प्रधामन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र हालका प्रधानमन्त्री केपी ओलीलाई बारम्बार ज्ञापनपत्र बुझाए पनि केही काम हुन नसकेको उनको भनाइ छ ।
विश्वविद्यालयमा एमबीबीएस, एमडी, नर्सिङ, बीफर्मा, बीएन, बीएस्सी नर्सिङलगायत मेडिकल शिक्षा सञ्चालन गर्न माग उठ्दै आएको छ । तर कुन सरकारको पालामा गर्ने र कसले जस पाउने भन्ने कारणले गर्दा कुनै उपलब्धि हुन नसकेको सङ्ग्रौला बताउँछन् ।
हरेक निर्वाचनमा चुनावी एजेण्डाको रूपमा विश्वविद्यालय प्रयोग भइरहेको छ । हाल प्रदेश सरकारले प्रदेशकै मातहतमा विश्वविद्यालय ल्याउने गरी प्रक्रिया अगाडि बढाइरहेको छ । कोशी अञ्चल अस्पताललाई सङ्घीय इकाइ अस्पताल बनाउने र विश्वविद्यालयलाई पनि त्यसकै मातहतमा ल्याउनको लागि प्रदेश सरकार लागिपरेको छ ।
एक जना कर्मचारी भर्ना गर्नुप¥यो भने कुन पार्टीको र कसको मान्छे हाल्ने भन्ने लफडाको कारण लामो समय कर्मचारीविहीन अवस्थामा विश्वविद्यालय सञ्चालन भइरहेको छ । जसले गर्दा मेडिकल शिक्षा प्रभावित बन्दै गएको छ । केही समय अगाडि बिरामीको घुइँचो लाग्ने विश्वविद्यालयको शिक्षण अस्पतालमा हाल बिरामी आउँदैनन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा हुँदा उपकुलपति विराटनगरमै मात्र व्यस्त देखिन्छन् । उनी नेपाली काङ्ग्रेसको कोटामा उपकुलपति भएका हुन् । तत्कालीन माओवादी केन्द्रको कोटामा रजिस्टार बनेकी प्रमलिा थापा पनि विराटनगरमै व्यस्त छिन् ।
राजनीतिक शक्तिकेन्द्र मानिएको विराटनगरले केन्द्रीय कार्यालय विराटनगर बाहिर लैजान नमिल्ने अडान लिएसँगै उपकुलपति पनि त्यसैको शिरोपर गरिरहेका छन् । विश्वविद्यालय फस्टायो भने त्यसको जस कसले लिने भन्ने राजनीतिक दाउपेचको कारण अहिलेसम्म प्रभावकारी रूपमा काम हुन सकेको छैन ।
उता विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास राज्यले अरू विश्वविद्यालयलाई भन्दा पूर्वाञ्चल विश्वविद्यालयलाई विभेद गरिरहेको बताउँछन् । कुलपतिले आश्वासनमात्र दिने तर बजेटमा कन्जुस्याइँ गर्दा समस्या आएको उनको भनाइ छ ।
तर कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाएर मेडिकल शिक्षा सञ्चालन गरिने उनी बताउँछन् । ‘केसी अञ्चल अस्पताल लाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ,’ उनी भन्छन्, ‘पर्याप्त बजेट आएमा आगामी एक वर्ष भित्रमा पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन हुन्छ । तर घरजग्गा बेचेरै विश्वविद्यालय चलाउन चाहिँ सकिँदैन ।’
हाल स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आङ्गिक क्याम्पसहरूको सञ्चालन गरी ती आङ्गिक क्याम्पसहरूमार्फत् कृषि शैक्षिक कार्यक्रम सञ्चालनमा आएका छन् ।
भेटेरेनरी, फरेष्ट्री एवम् वातावरण विषयाक शैक्षिक कार्यक्रम शैक्षिक सत्र २०१९ देखि शुरु हुने विश्वविद्यालयले जनाएको छ ।