खोटाङः आर्थिक वर्ष २०८०-०८१ मा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३७.९२ टन बदाम उत्पादन भएको छ । उत्पादन भएका बदामध्ये २३.०७ टन बदाम बिक्री भइसकेको नगरपालिकाका कृषि शाखा संयोजक राजु शाहले बताए ।

बाँकी १४.८५ टन बदाम किसानले बीउका लागि, अफ सिजनमा बिक्रीका लागि र आफ्नै प्रयोजनका लागि राखेका छन् । ११ वडा रहेको नगरपालिकाको करिब ४०.८५ हेक्टरमा बदाम खेती हुने गरेको छ । कोसेलीका रुपमा पनि बदामको प्रयोग हुने गरेको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदैआएको छ । बदाम बिक्रीबाट नगरपालिकाका किसानले राम्रो आम्दानी लिइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । बदाम पाथीको सरदर अढाई सयदेखि चार सयसम्ममा बिक्री हुने गरेको छ ।

नगरपालिकाका किसानले उत्पादन गरेको बदामलाई व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजान गरेकाछन् । कतिपय ठेकेदारले जिल्लाकै हलेसीबजार, दिक्तेल, रभुँवामा लाग्ने माघे संक्रान्ती मेला, बराहपोखरी मेला, ओखलढुंगा लगायतका बजारमा बदाम बिक्री गर्न लैजाने गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा बढि बदाम खेती लगाउने गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार लगायतका ठाउँमा पनि आंशिक मात्रामा बदाम खेती लगाउने गरिएको छ । पानी नपरेका कारण यस वर्ष विगतको तुलनामा बदाम उत्पादनमा ¥हास आएको कृषि संयोजक शाहले बताए ।

नगरपालिकाको धितुङमा सबैभन्दा बढि बदाम खेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०/२२ मुरी बदाम भित्रिने गरेको वडाध्यक्ष टेकराज राईले बताए । ‘वडाको आधा भू–भागमा बदाम खेती हुन्छ । वडाको तल्लो सबैजसो भू–भागमा लगाइन्छ । एक घर बराबर २०–२२ मुरी बदाम उत्पादन हुन्छ । पाथीको २५० देखि ३०० मा बिक्री हुन्छ,’ वडाध्यक्ष राईले भने, ‘बाबुबाजेकै पालादेखि स्वतःस्फुर्तरुपमा बदाम खेती हुँदैआएको हो । घरैबाट ठेकेदारले बदाम ठेगेर लैजान्छ । दाना लाउनेबेला पानी नपर्दा यसपल्ट अलि कम उत्पादन भो ।’

जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुनेगरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल जातको बदाम मात्रै खपत गर्ने गरेको छ । उन्नत जातको बदाम भने जिल्ला तथा जिल्ला बाहिरका बजार पुग्ने गरेको मेयर बिमला राईले बताईन् । बदाम र गहतको प्रचुर सम्भावना भएकै कारण नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ मा गहत र बदाम खेती प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम नै ल्याएको छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।